भेरीगंगा सहकारी र ऋणीबीचको विवाद समाधान

छिन्छु । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरीगंगा बहुद्देश्यीय सहकारी संस्थाले आफनै सदस्यलाई दिएको ऋणको बिषयमा उत्पन्न विवाद टुंगिएको छ । सहकारीका सेयर सदस्य तथा ऋणी साबित्री मगर र सहकारी पदाधिकारीबीच आपसी समझदारीमा उत्पन्न विवाद टुंग्याइएको हो ।

सेयर सदस्य मगरले पसल संचालनका लागि सहकारीबाट ऋण लिनुभएको थियो । मगरले ऋण लिए पश्चात थोरै थोरै पैसा सहकारीमा बुझाउँदै आउनुभएको थियो । तर ऋणको भाका नाघेपछि सहकारीले गरेको ताकेतामा पनि पैसा बुझाउन नसकेपछि विवाद सृजना भएको थियो ।

ऋणी मगरले पैसा तिर्ने भन्दै आएपनि सहकारीको मापदण्ड जस्ता कुराले उहाँलाई बारम्बार ताकेता गर्दा उहाँ पसल बन्द गर्नुभएको थियो । ऋणी मगरले आफुलाई बारम्बार पैसा तिर्न र पछिल्लो पटक २०/२५ जनाको हुलै आएर अहिले नै मार्लन झै गरेपछि डराएर आफुले पसल बन्द गरेको बताउनुभयो ।

एउटी महिला, त्यहामाथि एकल महिला, करिब १२ वर्षबढी समयदेखि छिन्छुमा व्यवसाय गर्दै आएको भएपनि पछिल्लो पटक सहकारीमार्फत भएको कार्यले आफु एकदमै डराएर पसल नै छोड्न परेको मगरले जानकारी दिनुभयो । पसल नै बन्द भएपछि भएको सामान सुरक्षित गर्न कोठमा राखेर ताला लगाएर सहकारीले सामानको सुरक्षा गरेको सहकारीले जनाएको छ तर मगरले सहकारीले आफुलाई उठिबास नै गराउन खोजेपछि आफु भाग्न बाध्य भएको बताउनुहुन्छ ।

यसरी करिब एक सातादेखि ऋणी र सहकारीबीच रहेको विवाद आपसी समझदारीमा टुंग्याइएको छ । समझदारीपछि सहकारीले मगरको कोठाको साँचो उपलब्ध गराएको छ । निरन्तर व्यवसाय गर्ने र मासिक रुपमा ऋण तिर्ने गरी सहमति भएको सहकारीका अध्यक्ष अम बहादुर नाथले जानकारी दिनुभयो । दुबै पक्षबीच भएको छलफलबाट कसैलाई मर्का नपार्ने र एउटा महिलालाई जीवन यापन गर्न सहज होस भन्ने हेतुले आपसी समझदारी गरिएको सहकारीका कार्यसमिति सदस्य लाल बहादुर खडकाले बताउनुभयो ।

छलफलअघि ऋणी र स्थानीयले सहकारीका बिरुद्ध नाराबाजी समेत गरेका थिए । मगरले सहकारीबाट तीन लाख ऋण लिनुभएको थियो । मगरले भेरीगंगा १२ देउतीटोलमा साबित्री फेन्सी स्टोरमार्फत कपडाको व्यवसाय गर्दै आउनुभएको छ ।

Previous articleबेरिना क्रिमको महत्व र प्रयोगबारे नेपालगञ्जमा अभिमुखिकरण
Next articleमाइती नेपालको ३२ औं स्थापना दिवसमा जनचेतना मुलक कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here