
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं-३ स्थित एपोस्टल एकेडमीले साँस्कृतिक कार्यक्रममार्फत आफ्ना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । एकेडमीले शुक्रबार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिभावकहरुको उपस्थितिमा आफ्ना विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले विद्यालयले अध्ययनसंगै बालबालिकामा रहेको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने वातावरण समेत निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले निजी तथा सामुदायिक विद्यालयको शिक्षण सिकाईलाई गुणस्तरीय बनाउन पालिकाले विभिन्न पहल गरिरहेको बताउनुभयो ।
खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले विद्यार्थीहरुको सिकाईलाई दिगो बनाउन जग बलियो बनाउनुपर्ने भन्दै शुरुको कक्षादेखि नै विशेष शिक्षण विधिमार्फत कक्षा संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन बाँकेका बरिष्ठ सल्लाहकार राजेन्द्र प्रसाद आचार्य, प्याब्सन खजुरा गाउँपालिका अध्यक्ष दिनेशराज शर्मा लगायतले एकेडमीको राम्रो पक्ष तथा शिक्षण कार्यलाई गुणस्तरीय बनाउन अभिभावकको भूमिकाका बारेमा बोल्नुभएको थियो ।
एकेडमीले बिभिन्न कक्षागत तहहरुमा भएको अतिरिक्त क्रियाकलापहरु तथा कक्षामा उत्कृष्ठ नतिजा ल्याएका र समग्र विद्यालयभित्र असल व्यवहार देखाउने विद्यार्थीहरुका साथै अन्य विद्यार्थीहरुलाई समेत प्रोत्साहन गर्दैै पुरस्कृत गरिएको संस्थापक एवम् प्रिन्सिपल गिता गोद्दार क्षेत्रीले जानकारी दिनुभयो ।
बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन शैक्षिक सामाग्रीसहित मान्टेश्वरी शिक्षण विधिमा आधारित रहेर अध्यापन गराउने विद्यालय हाल कक्षा ५ सम्म संचालित छ भने नयाँ शैक्षिक सत्र २०८१ सँगै कक्षा ६ को अध्यापन हुने प्रिन्सिपल क्षेत्रीले बताउनुभयो ।
बिगत एक वर्षदेखि खजुरा-३ मा संचालित एकेडमी यसअघि खजुरा वडा नं-८ मा संचालनमा रहेको थियो । एकेडमीमा हाल २५० बढी विद्यार्थी अध्ययनरत छन् । साँस्कृतिक कार्यक्रममा बालिबालिकाहरुको प्रतिभालाई विशेष जोड दिइएको थियो ।





