
नेपालगञ्ज । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले ऐन अन्र्तगत स्थानीय बाल अधिकार समिति गठन नगरेपछि तत्काल कार्यान्वयन गर्न अदालतले परमादेश गरेको हो ।
उच्च अदालत तुल्सीपुर इजलाश नेपालगञ्जका न्यायधीस टंकप्रसाद पौडेल र न्यायधीस बसन्तराज पौडेलको संयुक्त इजलाशले स्थानीय तहहरुले बालबालिका सम्बन्धी ऐन २०७५ ले व्यवस्था गरे बमोजिम बाल अधिकार समितिको गठन गरि ऐन कानुनले तोकेको बालबालिका प्रतिको दायित्व निर्वाह गर्नुपर्ने देखिएकोले सोको व्यवस्था गर्न परमादेश गरेको छ ।
अदालतले बालबालिकाको अधिकार, सम्मान संरक्षण, प्रबद्र्धन र परिपुर्तितर्फ प्रभावकारी कार्यहरु कार्यान्वयन नगरेको देखिँदा बालबालिका सम्बन्धी ऐन कानुनले निर्दिष्ट गरेका दायित्वहरु पुरा गर्नेतर्फ आवश्यक सयंन्त्रहरु बनाई सोको प्रभावकारी कार्यान्यवन गर्न गराउनु विपक्षीको नाममा आदेश गरेको हो ।
सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको तर्फबाट नेपालगञ्ज-७ निवासी काठमाण्डौ स्कुल आफ ल पाँचौ सकांयमा अध्ययनरत जिज्ञाशा तिवारी र संस्थाका स्वयम्सेवक एञ्जिला ज्ञवालीले बाँके र बर्दियाका १६ वटा स्थानीय तहलाई विपक्षी बनाई बालबालिका सम्बन्धी ऐनलाई कार्यान्वयन गर्नका लागि उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
सो मुद्दामा बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, अधिवक्ताहरु विश्वजीत तिवारी, राम कुमार दिक्षित, केवलसिहं थारु रिट निवेदिका जिज्ञासा तिवारी र ऐञ्जिला ज्ञवालीले बहस गर्नुभएको थियो । यसैगरी विपक्षी नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट अघिवक्ता लोकबहादुर शाह, नरैनापुर गाउँपालिकाको तर्फबाट अधिबक्ता बलबहादुर चन्द, बाँसगढी नगरपालिकाका तर्फबाट अधिबक्ता विकास आचार्य, खजुरा गाउँपालिकाको तर्फबाट अधिबक्ता भानुभक्त रिजालले बहस गर्नुभएको थियो ।
स्थानीय तहले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६० स्थानिय बालअधिकार समिति गठन, दफा ६१ मा बाल कल्याण अधिकारीको नियुक्ती, बाल कल्याण अधिकारीको काम कर्तव्य र अधिकारको व्यवस्था र दफा ६२ मा पालिका अन्तर्गत समाजसेवी तथा बाल मनोविज्ञ नियुक्ती समेतको व्यवस्था गरेको छ ।
उक्त कानूनी व्यवस्था रहेपनि हालसम्म बाँके र बर्दियाका कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेको पाइन्दैन । सोको तत्काल कार्यान्वयनका लागि अदालतमा सार्वजनिक सरोकारको विषय भन्दै मुद्दा दायर गरिएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो ।





