राप्ती सोनारीको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक सेवाको विषयमा गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिकाले प्रवाह गर्ने सेवाको विषयमा नागरिकहरुको अनुभुति मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सन्तुष्टि सर्वेक्षण गरिएको थियो ।

६६ हजार ४४५ जनसंख्या रहेको राप्ती सोनारीका सबै वडाका गरी १ हजार ५१० जना पालिका तथा पालिका अन्तर्गतका कार्यालयबाट सेवा लिएका नागरिकहरुमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणले नागरिकहरु पालिकाको सेवा प्रवाहप्रति सकारात्मक देखिए पनि पालिका तथा वडाको योजना तर्जुमा प्रक्रियामा नागरिक सहभागिता, पालिकाको समग्र विकास निर्माणको अवस्था लगायतको विषयमा सुधार गर्नुपर्ने देखिएको छ ।

१० वटा प्रश्न र ३ वटा उपप्रश्न गरिएको सर्वेक्षणमा ८११ जना महिला तथा ६९९ जना पुरुष सहभागि भएका थिए । सार्वजनिकरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनिषा कुमारी थारुले नागरिकप्रति सेवा प्रवाहमा थप संवेदनशिल भएर कार्य गर्नुपर्ने जरुरी देखिएको बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिहरुले नागरिकलाई केन्द्रबिन्दुमा राख्दै सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त र पारदर्शी बनाउनेतर्फ लाग्नुपर्ने उहाँले जोड दिनुभयो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपानेले जनप्रतिनिधि र कर्मचारीहरु नतिजामुखि सेवा प्रवाह गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजाले केहि विषयमा सुधार गर्नुपर्ने सुझाव दिएको भन्दै कार्य सम्पादनमा कुनै गुनासो नआउने गरि कार्य गर्न ध्यान दिनुपर्नेमा उहाँको भनाई थियो । सर्वेक्षणको जिम्मा पाएको बास नेपालले आइतबार नतिजा सार्वजनिक गरेको हो ।

Previous articleशुल्क सम्बन्धि मापदण्ड पालना गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन
Next articleबाँकेका बिभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here