
नेपालगञ्ज । शौन्दर्यकला व्यवसायी महिलाहरुका लागि नेपालगञ्जमा आयोजना गरिएको पाँच दिने निःशुल्क उद्घोषण तालिम मंगलबार सकिएको छ । शौन्दर्यकला व्यवसायी महिलाहरुमा बोल्ने कला अभिबृद्धिका लागि शौन्दर्यकला व्यवसायी संघ बाँके कार्यसमितिले बैशाख २१ गतेदिखि सो पाँच दिने निःशुल्क तालिम नेपालगञ्जमा संचालन गरेको थियो ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै शौन्दर्यकला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष शर्मिला खत्रीले थोरै समयमा पनि व्यवसायीहरुमा बोल्ने कलाको विकास गर्ने भनेर तालिम संचालन गरेकोमा बाँके शाखालाई धन्यवाद दिनुभएको थियो ।
समापनमा सहभागि भएकामध्येबाट भएको प्रस्तुतिले बोल्ने कलामा अभिबृद्धि भएको महसुस भएको पनि केन्द्रीय उपाध्यक्ष खत्रीले बताउनुभयो । विभिन्न तालिमहरु लिन शुल्क लाग्ने भएपनि बाँके शाखाले आफ्ना सदस्यहरुलाई निःशुल्क रुपमा तालिम प्रदान गर्नु आफैमा सराहनिय कार्य भएको उहाँले उल्लेख गर्नुभयो ।
वरिष्ठ व्यूटीशियन तथा संघका केन्द्रीय सल्लाहकार सोनिया श्रेष्ठले कार्यक्रम, बैठक संचालन गर्न तथा आफ्ना कुराहरु व्यक्त गर्नपनि व्यूटिसियनहरुमा बिद्यमान हिचकिचाउने अवस्थामा केही परिवर्तन भएको पाएको बताउनुभयो । व्यूटिसियन महिलाहरुमा विकास भएको यस्तो क्षमताले गरिराखेको कार्यमा थप बल पुग्ने उहाँको विश्वास छ ।
संघ, जिल्ला शाखा बाँकेकी अध्यक्ष राधा शाहले महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धिका लागि यो तालिम संचालन गरिएको स्पष्ट पार्नुभयो । यो तालिमले आफुलाई समेत धेरै कुराहरु सिकाएको भन्दै सहभागि महिलाहरुलाई समेत आवश्यक ज्ञान प्रदान गरेको उहाँले बताउनुभयो । उहाँले यस तालिमले महिलाहरु उदेघाषण गर्न सक्दैनन भन्ने धारणाको अन्त्य गरेको र आगामी दिनमा थप यस्ता कार्यक्रमहरु संस्थाले संचालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघ बाँकेकी सचिव प्रमिला चौधरीले संचालन गर्नुभएको समापन समारोहमा उपाध्यक्ष कृष्णा श्रेष्ठले अतिथि तथा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । नेपालगञ्ज, राँझा, फुल्टेक्रा, मुक्तिपुर लगायतका क्षेत्रका व्यूटीशियन व्यवसायी महिलाहरुको सहभागिता रहेको तालिमलाई पत्रकार भिष्म लोध र साबित्री बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।





