
नेपालगञ्ज । नेपाल सरकारले एक सय रुपैयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदको गत विहीबार बसेको बैठकले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । सोही बिषयलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
नेपालको निर्णयकाबारेमा भारतका पत्रकारहरुको जिज्ञासामा विदेशमन्त्री जयशंकरले भारतको धारणा स्पष्ट रहेको भन्दै नक्सा परिवर्तन भएपनि धरातलीय यथार्थ परिवर्तन नहुने प्रतिक्रिया दिनुभएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । भारतले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।





