
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा देशभरमै मातृ शिशु मृत्युदर उच्च छ । ठूल्ठूला र सुविधा सम्पन्न अस्पताल भएपनि सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहाली लाग्दो रहेको देखिएको छ ।
दुई दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा जिल्लास्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरूको संख्या नै १ हजार ९ सय ४० भएपनि मातृ शिशु मृत्यदरमा कमी नआएको देखिएको हो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याँकमा प्रदेशको स्थिति खराब रहेको देखिएको छ । प्रदेशमा २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ सेन्टर र ३ सय ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन् । तर, मातृ शिशु मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश सबभन्दा कमजोर देखिएको छ ।
लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन् । जुन देशका सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै हो । तथ्यांक अधिकृत मान बहादुर ओलीले लुम्बिनी प्रदेशमा ७६ हजार २४३ जीवित जन्ममा १ सय ५८ जना आमाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही छ ।
१५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा ७र७ जना, प्यूठान र रोल्पामा ६र६ जनाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँची र मा ४र४ जना र सबैभन्दा कम रूकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
मृत्यु हुने संख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र ५ प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ ।
लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद कुमार गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उच्च मातृशिशु मृत्युदर कम गर्न बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ ।
वडाहरुमा ब्यवस्थित बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाको अकालमा ज्यान जाने गरेको बताइएको छ । भेरी अस्पतालमा सुत्केरीहरुको चापले गर्दा बेड नपाउने समस्या र बर्थिङ सेन्टरहरुमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाइरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरेका छन् ।





