
नेपालगञ्ज । नेपालगञ्जभित्रका विभिन्न संस्थागत विद्यालयहरूमा भइरहेको लुटतन्त्रविरूद्ध ५ बुँदे मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले उपमहानगरपालिकाको शिक्षा शाखामा ताला लगाएको छ ।
संगठनले यसअघि एक हप्ताको अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएको थियो तर १० दिन बितेपनि नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले बेवास्ता गरेपछि आइतबार कार्यालयमा तालाबन्दी गरेको हो ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश बिकले शिक्षा शाखाले मागहरुप्रति कुनै चासो नदेखाएकाले कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिनुभयो । शिक्षा शाखाले शैक्षिक दलालहरूको पक्षपोषण गर्ने काम गरेकोमा अनेरास्ववियु बाँके गम्भीर भएको जनाएको छ । अनेरास्ववियुले कार्यालयको मुल ढोकामा आफ्नो मागसहितको पत्र टाँस्दै तालाबन्दी गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा शाखाबाट अनावश्यक शुल्क लिने विद्यालयहरूलाई कारबाही, मापदण्ड पुरा नभएका विद्यालयहरूको ग्रेड अभिवृद्धि खारेजी, विपन्न विद्यार्थीहरूलाई १०% छात्रवृद्धिको व्यवस्था र उपमहानगरपालिकाको शिक्षा निर्देशिका अनुरूप नचल्ने विद्यालयहरूलाई कारबाही नगर्दासम्म अनेरास्ववियुले अनिश्चितकाल तालाबन्दी गरेको समेत जनाएको छ ।
साथै उपमहानगरपालिका, शिक्षा शाखाले अझै बेवास्ता गरे आन्दोलन थप शशक्त बनाउने र आन्दोलनबाट हुने सम्पूर्ण क्षति स्वंयम शिक्षा युवा तथा खेलकुद महाशाखा जवाफदेही हुने समेत चेतावनी दिएको छ ।





