
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा अनुगमन गरिरहेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयो ।
आज नेपालगञ्ज वडा नं १० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताउनुभयो ।
समग्रमा इन्द्रावती सहकारीको अवस्था सुधारोन्मुख देखिएको रानाको भनाई छ । डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन–नियम निर्माण, खर्च कटौती लगायतका विषयमा सुझाब दिइएको छ ।
इन्द्रावतीका प्रबन्ध सञ्चालक टि.बी थापा (प्रकाश) ले कैफियत सच्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।
सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नुभएको छ । उहाँले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताउनुभयो ।





