
नेपालगञ्ज । नेपाल भारत सीमा नाका बन्द भएपछि रुपैडिहमा होल्ड भएका करिब तीन हजार बढी नेपालीलाईलाई नेपालतर्फ ल्याइएको छ ।
भारतमा भइरहेको लोकसभा निर्वाचनका कारण नेपाल भारत सीमा नाका बन्द भएपछि भारतबाट फर्किन लागेका तीन हजार बढी नेपालीलाईलाई नेपालर्फ ल्याइएको हो ।
नाका बन्द भएपछि भारतीय सशस्त्र प्रहरीको समन्वय सहकार्यमा भारतीय बजार रुपैयामा होल्ड भएका तीन हजार बढी नेपालीलाईलाई नेपालतर्फ ल्याएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख रबिन्द्र बमले जानकारी दिनुभयो ।
भारतमा आज सोमबार भइरहेको निर्वाचनका कारण ७२ घण्टाका लागि सीमा नाका बन्द गरिएको छ । नाका बन्द भएपछि उपचार, रोजगार लगायत कामबाट फर्किएका नेपालीलाईहरुलाई नेपालतर्फ ल्याइएको जमुनाहा चौकी प्रमुख बमले बताउनुभयो ।
‘नाका बन्द भएपछि कोही पनि आउजाउ गर्न गाह्रो हुन्छ भन्ने थियो,’ प्रमुख बमले भन्नुभयो, ‘तर भारतीय एसएसबीका प्रमुखको सहयोगी भूमिका रह्यो, नेपालीहरुलाई पठाईदिन अनुरोध गरेपछि उता रोकिएकाहरुलाई नेपाल प्रवेश गराइएको छ । मित्रवत व्यवहार प्रस्तुत भयो ।’
यो क्रममा नेपालबाट समेत करिब चार हजार व्यक्तिलाई भारत प्रवेश दिइएको छ । प्रमुख बमका अनुसार बिरमी, औषधी उपचारका लागि भारत जाने तथा उताका नागरिकहरु गरी चार हजार बढीलाई भारत प्रवेश दिइएको छ ।
बैशाख २९ गते (शुक्रवार) मध्यरातदेखि जमुनाह नाका पूर्णरूपमा बन्द गरिएपछि एम्बुलेन्स र सुरक्षाकर्मीको सवारी साधन बाहेक अन्यलाई पैदल यात्रासमेत रोक लगाइएको छ ।
निर्वाचनका कारण नेपाल भारत सीमा नाका आज सोमबार राती १२ बजेसम्म बन्द गरिएको छ । तर निर्वाचन मतपेटिका लगायतका सामाग्री समयमा व्यवस्थापन भए सम्भवत आज साँझसम्म उताबाट नाका खोल्ने सम्भावना रहेको प्रमुख बमले बताउनुभयो ।





