
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा निरन्तर अनुगमन गरिरहेको छ ।
सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयाे ।
यसै क्रममा आज शारदा उपभोक्ता सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताउनुभयाे । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम त्रुटी सच्याउन निर्देशन दिइएको छ ।
“दिइएको समय अगावै सम्पूर्ण निर्देशनहरु कार्यान्वयन गरिसक्ने लक्ष्यले ‘कार्यान्वयन योजना’ बनाएर सञ्चालक समितिबाट स्वीकृत गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएका छौं, कार्ययोजना अन्तर्गतका कार्यहरुको कार्यान्वयन प्रगति त्यसपछिको ३५ दिनभित्र हामीलाई पठाउनुपर्नेछ,” रानाले भन्नुभयाे,”तुलनात्मकरुपले हेर्दा यो सहकारी केही कैफियत बाहेक व्यवस्थित ढंगले सञ्चालन भएको पायौं ।”
सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।
कार्यविधिहरु प्रचलित नियम कानुनसंग नबाझिने गरी बनाउन, कर्मचारी हाजिरी नियमित गर्न गराउन, कर्मचारीको तलब भत्ता प्रचलित कानुन बमोजिम समान पदका लागि समान गर्न, सदस्य शिक्षा तथा सदस्य भेटघाट नियमितरुपमा चलाउन निर्देशन दिइएको रानाले बताउनुभयाे ।
यस्तै ऋण लगानी पश्चात ऋण सुरक्षण कोषमा व्यवस्थापन गर्न, ऋण माग फाराम फाइभ सी मोडेलमा बनाउन, भौचर प्रमाणित अध्यक्षले अनिवार्यरुपमा गर्न, डेबुक व्यवस्थित र प्रमाणित गर्न, बीमा कमिसन आम्दानी सम्बन्धमा सञ्चालक समितिको निर्णय हुनुपर्ने लगायत निर्देशन दिइएको अनुमगन समिति सदस्य उपाध्यायले बताउनुभयाे ।
शारदा उपभोक्ता सहकारी संस्थाकी प्रमुख रुपा पन्थीले देखिएका त्रुटी सच्याएर सहकारीलाई अझ ब्यवस्थित बनाउँदै लैजाने बताउनुभयाे । शारदाले आफ्ना सदस्यहरुले उत्पादन गरेका सिन्की, मस्यौरा, सातु लगायत पनि विक्रि वितरण गर्दै आएको छ ।





