
नेपालगञ्ज । बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा खगेन्द्र प्रसाद रिजाल आउनु हुने भएको छ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीको पदस्थापन गरेपछि बाँकेको जिम्मेवारीमा बागलुङमा रहनुभएका रिजाललाई जिम्मेवारी दिइएको हो ।
गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो । शुक्रबारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्मा पर्वतको प्रमुख जिल्ला अधिकारी र सहसचिव नेत्र प्रसाद सुवेदी बागलुङको प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन भएको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल एक साता बढी समयदेखि काठमाण्डौं गएर उतैबाट यहाँको जिम्मेवारीबाट बिदा हुनुभएको हो । उहाँले आफु बिदा भएको कुरा जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक संजालमार्फत जानकारी गराए लगत्तै सो जानकारीसहितको पोष्ट समेत हटाइएको थियो । पोखरेलले एक्कासी जिल्ला छोडेपछि चौतर्फी आलोचाना भएको छ ।





