डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

नेपालगञ्ज । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए ।

उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिएकाले मातृ मृत्युदरमा घटाउनका लागि रणनीति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने बताएका थिए । समुदायस्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरि महिलाहरुलाई सचेत बनाउनुपर्ने डुडुवा ५ नं. का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो ।

निर्देशनालयले प्रस्तुत गरेको तथ्याँक अनुसार लुम्बिनी प्रदेशमै बाँके जिल्ला संस्थागत प्रसुति दर उच्च रहेपनि मातृ मृत्युदर बढेको पाइएको छ । संस्थागत प्रसुति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् भने डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार डुडुवामा आर्थिक वर्ष २०८०÷०८१ मा दुई जना आमाको ज्यान गएको छ ।

बाँकेमा मातृ मृत्यु हुनुमा समुदायस्तरमा जनचेतनाको कमी, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता नपर्नु, धेरै पटक गर्भवती हुनु, सन्तुलित आहारको कमी, प्रसुती केन्द्रमा ल्याब सेवा तथा आरयुएसजीको प्रावधान नहुनु, घरमै बच्चा जन्माउनुलगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।

कार्यक्रममा डुडुवाका वार्ड नं–३ का अध्यक्ष आमोद तिवारी, ५ का अध्यक्ष थापा, ६ का अध्यक्ष मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका निर्देशक रेशम बहादुर राना लगायतले बोल्नुभएको थियो ।

Previous articleबाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा रिजाल आउँदै
Next articleप्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here