
राजापुर । राजापुर नगरपालिका कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नगर प्रमुख शिव प्रसाद चौधरीले सहायता कक्षको उदघाटन गर्नुभएको छ । गेरुवा ग्रामीण जागरण संघ बर्दियाको आयोजनामा भएको सामाग्री हस्तान्तरण कार्यक्रमको अवसरमा नागरिक सहायता कक्षको उद्घाटन गरिएको हो ।
संघका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख मनकला कुमारी चौधरीको समेत उपस्थिति रहेको थियो । सो अवसरमा यूएसएड तयार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संघले कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत सहायता कक्षका लागि राजापुर नगरपालिकालाई आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ ।
नागरिकहरुलाई कोभिड १९ बाट प्रभावित सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्नका निम्ति आवश्यक कम्प्यूटर, फर्निचर लगायका सामाग्री नगरपालिकालाई संघले दिएको हो । सो अवसमा नगर प्रमुख चौधरीले आपतकालिन अवस्थामा संघ संस्थाको भूमिका आवश्यक रहेको र अपरिहार्य रहेको भन्दै सहायता कक्षको स्थापनामा सहयोग उपलब्ध गराएकोमा गेरुवालाई धन्यवाद दिनुभयो । साथै उहाँले निरन्तर सेवा प्रवाहका लागि नगर सधै सकारात्मक तरिकाले अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
संघका अध्यक्ष शाहले राजापुर नगरपालिकाका लागि हातेमालो र समन्वय सहकार्यमा कार्यक्रमलाई अगाडी बढाउने बताउनुभयो । यस्तै बर्दियाका सम्पूर्ण स्थानिय निकायको सहकार्यमा आवश्यक क्षेत्र पहिचान गरी कार्यक्रमहरु सञ्चालन भईरहेको र आगामी दिनहरुमा थप कार्यक्रम ल्याउनमा पहल गरिरहेको जानकारी गराउनुभएको थियो ।
उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त राजअधिकारी, नागरिक समाज बर्दियाका संयोजक बाल कृष्ण ओली, तयार नेपालका फिल्ड कार्यक्रम अधिकृत कृष्ण प्रसाद चौधरी, संघका कोषाध्यक्ष लक्ष्मण प्रसाद चौधरी र कार्यकारी निर्देशक हरि सबेदीको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामाग्री सहयोग प्रदान
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले जिल्ला प्रशासन कार्यालय, मधुवन र राजापुर नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्र सोरहवालाई मास्क र स्यानिटाईजर सहयोग प्रदान गरेको छ ।
टिडिएचको आर्थिक सहयोगमा गेरुवाद्धारा बर्दियामा संचालित परियोजना अन्तर्गत कोभिड १९ का लागि २५ हजार मास्क र स्यानिटाईजर सहयोग प्रदान गरिएको हो । जसमा राजापुर नगरपालिकालाई मात्र ३७५ लिटर सेनिटाइजर र १० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको छ ।





