
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्वका लागि यही जेष्ठ २६ गते अधिवेशन हुने भएको छ । महासंघ बाँकेको बसेको कार्यसमिति बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको हो ।
महासंघको निर्णय अनुसार यही जेष्ठ १९ गते १४ औं साधारणसभा तथा जेष्ठ २६ गते नेतृत्वका लागि अधिवेशन हुने भएको हो । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले महासंघले प्रदान गर्ने विभिन्न पुरस्कार वितरणका लागि छनोट तथा निर्वाचन समिति समेत गठन गरेको छ ।
साधारणसभामा वितरण गरिने पुरस्कार छनोट समितिको संयोजकमा रुद सुवेदी तथा सदस्यहरुमा डा.डक्ट धिताल र नवीन गिरी रहनुभएको छ । यस्तै निर्वाचन समितिको मुख्य निर्वाचन अधिकृतमा शरण कर्मचार्य तथा निर्वाधन अधिकृतद्धयमा अधिवक्ता केशव कोइराला र दिपेन्द्र धिताल रहनुभएको छ ।
अध्यक्ष भण्डारीको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । साथै महासंघको साधारणसभाको तयारी शुरु भइसकेको बाँके सचिव कमल डाँगीले जानकारी दिनुभयो । महासंघको कार्यकाल ३ वर्षको हुने गर्छ ।





