
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित एक विद्यालयमा भएको विवादको विषयमा समाचार संकलन गर्न पुगेका बाँकेका दुई जना पत्रकारमाथि दुव्र्यवहार भएको छ ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय वडा नं-४ खोदावाँमा अनियमितता र भ्रष्टाचार भएको भन्दै शिक्षा कार्यालयमा भएको तालाबान्दीको विषयमा आइतबार दिउँसो समाचार संकलन गर्न पुगेका पत्रकारद्वय खगेन्द्र दाहाल र चन्द्रेश्वरराज त्रिपाठीमाथि दुव्र्यवहार भएको हो ।
शिक्षक भर्नाका क्रममा बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावक, शिक्षाप्रेमीहरुले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका थिए । खबरगञ्जका सम्पादक दाहाल र सत्यमखबरका सञ्चालक त्रिपाठी समाचार संकलन गर्न स्थलगत पुग्नुभएको थियो ।
तालाबन्दीको समाचार संकलनकै क्रममा बिद्यालय निरीक्षक कृष्ण कुमार थारुले बोलाएका ब्यक्तिहरुले पत्रकारद्वयलाई गाली गलौज गर्दै सञ्चार सामग्रीसमेत तोडफोड गरेको पिडित पत्रकार त्रिपाठीले जानकारी दिनुभयो ।
बिद्यालय निरीक्षक थारुले बोलाएर आएका आधा दर्जनबढी ब्यक्तिहरुले मोबाईल समेत फुटाएको सत्यमखबरका सञ्चालक त्रिपाठीको आरोप छ । बाेलाएर आएका व्यक्तिहरुले समाचार संकलनमा रोक लगाउँदै गाली गालौजसहित दुब्र्यवहार गरेका थिए ।
मोबाईल फुटाएपछि इलाका प्रहरी कार्यालय भगवानपुर पुग्नुभएका सञ्चालक त्रिपाठीले जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी समेत दर्ता नगरेको पिडित त्रिपाठीले बताउनुभयो । पत्रकार दाहालले बाहिरबाट व्यक्ति बोलाएर आफुहरुमाथि दव्र्यवहार गर्न लगाइएको बताउनुभयो ।





