
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले वितरण गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पत्रकार लक्ष्मण पौडेलले प्राप्त गर्नुभएको छ । पौडेल गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा वितरण गरिने यो पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ । यो राशि रुपन्देहीको सबैभन्दा ठूलो पत्रकारिता पुरस्कार हो ।
यस्तै बुटवलका पूर्व नगर प्रमुख एवं पूर्वप्रतिनिधि सभा सदस्य सूर्यप्रसाद प्रधानको समृतिमा स्थापित सूर्यप्रसाद स्मृति पत्रकारिता पुरस्कार भगवती पाण्डे र तेजेन्द्र केसीले प्राप्त गर्नुभएक छ ।
पाण्डे लुम्बिनी टेलिभिजन र केसी दैनिकपत्र दैनिकमा कार्यरत हुनुहुन्छ । यस्तै बुटवल पब्लिक स्कूलले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार कृष्ण खनाल र अम्बिका परियारले पाउनुभएको छ ।
पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख खेलराज पाण्डे, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।





