
नेपालगञ्ज । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको र सो क्रम कायम रहने जानकारी गराउँदै महाशाखाले सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाले आज नेपालगञ्जको ४१.७, धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सिय पुग्ने आकलन गरेको छ । त्यस्तै दिपायल र जनकपुरमा ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस् हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी सूचनामा उल्लेख छ ।
त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान पनि महाशाखाले अनुरोध गरेको छ ।





