नेपालगञ्ज । तपाई सुन्दा अचम्म मान्नु हुन्छ होला, किनभने उहाँले गरेको समाजसेवा धन, सम्पत्ति, जग्गा-जमिन हुनेहरुको भन्दा फरक छ ।
उहाँले गरेको समाजसेवा उदाहरणीय बनेको छ । उहाँको समाजसेवाले बाँके जिल्लामा इतिहास रचेको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय उहाँले धन सम्पत्तिले हुने समाजसेवा भन्दा बेग्लै गरेर आफुलाई सामाजिक व्यक्तित्वको पहिचान स्थापित गर्नुभएको छ ।
हुन त, आजभोलि केही कार्यक्रमहरुमा सक्रिय हुने, दुई चार वटा कार्यक्रम तथा अभियानहरु चलाएर आफुलाई समाजसेवी भन्ने व्यक्तिको समाजमा कमि छैन । तर आज हामीले चर्चा गरिरहेको व्यक्ति त्यस्तो नभई वास्तविक रुपमा समाजसेवकको हकदार हुनुहुन्छ ।
उहाँ हुनुहुन्छ, नेपालगञ्जका पवन जायसवाल । जो लामो समयदेखि बाँकेको पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ । तर उहाँ पत्रकारिताभन्दा सामाजिक कार्यले बढी परिचित हुनुहुन्छ । उहाँले १०० औं पटक रक्तदान गरेर इतिहास बनाउनुभएको हो ।
जयसवालले बिहीबार जनमत अद्र्ध साप्ताहिको ६० औं श्रृंखलामा १०० औं पटकको रक्तदान गर्नुभएको छ । योसँगै जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिको लिष्टमा उहाँ तेस्रो बन्नुभएको छ । हो सुन्दा तपाईलाई लाग्न सक्छ होला, अहिलेको समयमा यतिधेरै पटक एउटा व्यक्तिले कसरी रक्तदान गर्न सक्छ भनेर, तर यो सत्य हो ।
उहाँले दान गरेको रगतले धेरैको ज्यान बचाएको छ । धेरैजसो व्यक्तिले चिने–जानेको व्यक्ति अथवा आफ्ना नजिकका व्यक्तिलाई आवश्यकता पर्दा मात्र रक्तदान गर्नुहुन्छ । तर उहाँले गरेको रक्तदानबाट कैयौं अन्जान व्यक्तिले नयाँ जीवन पाएका छन् । जसलाई उहाँले कहिल्यै भेट्नु भएको छैन् । शरीरमा रगतको कमी हुँदा धेरै व्यक्तिको ज्यान पनि जाने हुन्छ ।
“आफ्नो रगत को ? व्यक्तिमा प्रयोग भयो भन्ने भन्दा पनि मैले दिएको रगत अथवा मेरो सानो प्रयास, सहयोगले कसैको ज्यान जोगिन्छ भने मेरो लागि त्योभन्दा ठुलो अरु केही हुन सक्दैन,” रक्तदाता जायसवाल भन्नुहुन्छ । “म यसमा नै धेरै खुशी छु ।”
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१९ सुर्जिगाउँ निवासी जायसवालले पहिलो पटक बि.सं.२०४६ साल असोज ४ गते रक्तदान गर्नुभएको थियो । पहिलो पटक रगतदान गर्ने बेलाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “रक्तदान गर्न जाँदा प्रेसर जाँच गर्ने बेला नै मेरो रगत निकाल्न मिल्दैन भन्ने भनेको भय, दिन पर्दैन भनेर सोंचेको भएपनि त्यस्तो केही भएन, प्रेसर जाँचमा सामान्य देखिएपछि रगत दान गरे, शुरुमा भएको डर हराएर गयो ।”
त्यसबेलादेखि नै जायसवालले निरन्तर रक्तदान गर्दै आउनुभएको छ । बाँकेमा मात्रै नभएर छिमेकी जिल्ला बर्दियासमेत पुगेर उहाँ रक्तदान गर्ने गर्नुभएको छ । नियमित रक्तदान गर्न थालेपछि २०६३ साल बैशाख २९ गते नेपालगञ्जबाट प्रकाशित हुँदै आएको जनमत अद्र्ध साप्ताहिक पत्रिकाको बैशाख ३१ गते हुन लागेको रजत वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम गर्ने प्रस्ताव गरेसँगै जायसवालले नियमित रक्तदान गर्दै आउनुभएको हो ।
आफु धेरैपटक रक्तदान गर्न पाएकोमा उहाँ औधी खुशी हुनुभएको छ । मधेशी समुदायको व्यक्तिले रक्तदान गर्दैन, डराउँछ भन्ने भनाईलाई समेत उहाँ उदाहरणीय रक्तदाता भएर अर्थहिन सावित गर्नुभएको छ । “मेरो स्वास्थ्यले भएसम्म रक्तदान गर्छु, यो मेरो प्रतिबद्धता छ,” उहाँले भन्नुभयो ।साथै उहाँले मुस्लिम समुदायका युवा तथा स्वस्थ व्यक्तिलाई आफुजस्तै नियमित रक्तदान गर्न आग्रह गर्नुभयो । उहाँको रक्तदान कार्यप्रतिको लगाव, सक्रियता देखेर उहाँलाई चिन्ने जिल्ला बाहिरसमेतका व्यक्ति तथा संस्था नतमस्तक छन् ।
“उहाँको यो कार्यप्रति म पनि चकित छु,” वरिष्ठ पत्रकार तथा जनमत अद्र्ध साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक पूर्णलाल चुकेले भन्नुभयो, “जायसवाल जीको साामाजिक कार्यका लागि सलाम गर्दछु । उहाँ जतिबेला जहाँ पनि रक्तदान कार्यमा पुग्नुहुन्छ ।”
“कसैलाई रगतको अवश्यकता भइहाल्यो, रगत अभाव भयो भन्ने कुरा सुन्ने बित्तिकै उहाँ दौडी हाल्नुहुन्छ,” रक्त संचार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीको भनाई छ । “उहाँ जस्तो निस्वार्थ सेवा गर्ने व्यक्ति कमै हुन्छन् । धेरै व्यक्तिको प्रेरणाको स्रोत उहाँ बन्नुभएको छ ।”
यसका क्षेत्रको उहाँ हाम्रा लागि अमुल्य गहना भएको स्वयंसेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाहको भनाई छ । “यो समाजले उहाँलाई कहिल्यै पनि बिर्सने छैन,” अध्यक्ष शाहले भन्नुभयो, “यस्तो उदाहरणीय कार्य गर्ने व्यक्तिलाई हामीले जति सम्मान गरेपनि कम नै हुन्छ, हार्दिक नमन छ जायसवाल जीलाई ।”
५० वर्ष पुग्नुभएका जायसवाल नियमित रक्तदाता हुनुका साथै नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्लाको सल्लाहकार, हिमालिनी अनालाईन, मध्यान्ह राष्ट्रिय दैनिक, लोकलय मासिक पत्रिका, दैनिक नेपालगञ्ज, जनमत अद्र्ध साप्ताहिक र नयाँ नेपाल अवधी पृष्ठको संवाददाता समेत हुनुहुन्छ ।
जिल्लामा हालसम्म १५६ पटक रक्तदान गरेर नेपालगञ्जकै गोपीनाथ बैश्य नेपालमै दोस्रो रक्तदाता हुनुहुन्छ भने ७६ पटक रक्तदान गरेर नेपालमै महिला रक्तदाताका रुपमा नेपालगञ्जकै सरिता खनाल हुनुहुन्छ । उहाँले हालसम्मको अवस्थासम्म समाजिक कार्यमा हौसला, उत्प्रेरणा दिने सबैलाई धन्यवाद समेत दिनुभयो ।