डुडुवा । सिमान्तकृत समुदायका लागि बाँकेको डुडुवा गाउँपालिकाले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड स्थानीयले दिएका छन् । सिमान्तकृत समुदायका लागि पालिकामा भएको एक कार्यक्रममा बोल्ने स्थानीयले पालिकाले बिशेष प्रकारको कार्यक्रम ल्याउन माग गरेका हुन् ।
सिमान्तृकत समुदायको आर्थिक सामाजिक अधिकार र न्यायमा पहुँचका लागि स्थानीय सरकार तथा सरोकार राख्ने तह/निकायको भूमिका विषयक कार्यक्रममा बोल्दै डुडुवा गाउँपालिका वडा नं-१ का वडाअध्यक्ष पाटेश्वर कुर्मीले यस समुदायमा समस्या अझै रहेकाले यसतर्फ ध्यान दिइनुपर्ने बताउनुभयो ।
उहाँले यस समुदायका बालबालिका विद्यालयबाट बञ्चित रहेकाले संघ संस्थाको पहलमा विद्यालयसम्म पुर्याउन पहल गरिने बताउनुभयो । वडा नं-३ का वडाअध्यक्ष आमोद तिवारीले मेहनत र लगन भए गर्न चाहने व्यक्तिले आवश्यक कुराहरु सहजै गर्न सकिने कुरामा जोड दिनुभयो ।
उहाँले कुनै व्यक्ति पढन चाहन्छ भने त्यसभित्र पढाईप्रति लगन हुन आवश्यक रहेको धारणा राख्नुभयो । कार्यपालिका सदस्य समसुद्दिन सलमानीले संविधानले कसैमाथि कुनै प्रकारको विभेद गर्न नहुने कुराको व्यवस्था गरेको हुँदा कसैलाई कसैलाई विभेद गर्न नहुने बताउनुभयो ।
उहाँले समुदायका सबै व्यक्ति मिलेर अघि बढ्नुपर्ने र शिक्षाका लागि अगाडी बढ्न आवश्यक रहेको पनि बताउनुभयो । गाउँपालिकाका निमित्त स्वास्थ्य संयोजक पवन कैरातीले गाउँपालिकाका हरेक क्षेत्र, टोलहरुमा स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित नहुने गरि गतिबिधि भइरहेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय बादी संजाल नेपालका अध्यक्ष केशव बादी (नेपाली) ले विषयबस्तुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पालिकामा रहेका सिमान्तकृत समुदायका व्यक्तिहरुको समस्या तथा सवालहरु जोड दिएर कार्यक्रम गरिएको कमिट नेपालकी कार्यक्रम संयोजक सिता बिष्टले जानकारी दिनुभयो ।
विभिन्न संस्थाहरुको सहकार्यमा कमिट नेपालले कार्यक्रमको आयोजना गरेको थियो ।