२० औं विश्व रक्तदाता दिवसः रक्त अभियन्ता सम्मानित

नेपालगन्ज । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपालगन्जमा रक्तदान लगायत विविध कार्यक्रमको आयोजना गरियो । “रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद” भन्ने मूल नाराका साथ जेष्ठ ३२ गते विश्व रक्तदाता दिवस मनाइएको हो ।

“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको आयोजना र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको सह–आयोजनामा सम्पन्न शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रममा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा शुभकामना आदान प्रदानका साथै दुई जना पत्रकार तथा रक्त अभियन्तालाई सम्मान गरिएको छ । जिल्लामा सय पटक रक्तदान गर्ने शतक रक्तदाता सञ्चारकर्मी पवन जायसवाल र विगत लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रुपमा क्रियाशिल वरिष्ठ पत्रकार पूर्णलाल चुकेलाई सम्मान गरिएको छ भने प्रादेशिक रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई निरन्तर तीन दशकदेखि प्राविधिक सेवा उपलब्ध गराएकोमा प्रशंसा पत्र प्रदान गरिएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, बाँके शाखाकी अध्यक्ष दिला शाह र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीले दोसल्ला ओढाएर सम्मान तथा प्रशंसा पत्र हस्तान्तरण गर्नुभयो ।

सोही कार्यक्रममा समाज, बाँके शाखाकी अध्यक्ष शाहलाई रक्तदानको अभियानमा निरन्तर लाग्नु भएकोले प्रादेशिक रक्तसंचार सेवा केन्द्रका प्रमुख रेग्मी तथा श्रीमती सरिता सिंहले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष धामी, समाज, बाँके शाखाकी अध्यक्ष शाह, सम्मानितत्रय चुके, जायसवाल र रेग्मीले जीवनमा रगतको महत्व र आवश्यकताका बारेमा बोल्दै रगतको अभाव हुन नदिन सबैले आ–आफ्नो तहबाट रक्तदान अभियानमा हातमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रको प्रारम्भमा समाजका केन्द्रीय अध्यक्ष १७८ं पटक रक्तदान गर्ने रक्त सम्राट प्रेम सागर कर्माचार्यले तयार गर्नु भएको रक्तदान सम्बन्धि गीत समाज बाँके अध्यक्ष शाहले सार्वजनिक गर्नुभएको थियो । समाजका जिल्ला सचिव भीष्म लोधले सञ्चालन गरेको सो कार्यक्रममा नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका निवर्तमान अध्यक्ष राजेश मास्के, वरिष्ठ उद्योगपति चम्पालाल बोथरा, उद्योगपति रिद्ध करण जैन, नेपालगन्ज औद्योगिक क्षेत्रका निमित्त कार्यालय प्रमुख जागेश्वर चौधरी लगायत चार दर्जनको सहभागिता रहेको थियो ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४ जूनका दिन विश्व रक्तदाता दिवस मनाईन्छ । सदा झै यस वर्ष पनि १४ जुनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो ।

रगतको वैकल्पिक व्यवस्था हालसम्म वैैज्ञानिकहरु पत्ता लगाउन नसकेको अवस्थामा घाइते वा विरामीलाई मानिस कै रगत जरुरी हुने डाक्टरहरुले बताउँछन् । दिवसकै अवसरमा शुक्रवार नै आयोजित रक्तदान कार्यक्रममा प्राजातन्त्रिक उद्योग व्यवसायी संघले ७६ पिन्ट रगत संकलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ । उक्त केन्द्रहरुबाट बार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माँग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख रेग्मीले बताउनु भएको छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या वृद्धि संगै रगतको माग दिन प्रतिदिन बढ्दै गइरहेको छ । त्यो अवश्यकता पूर्ति संस्थागत र स्वयंसेवी रक्तदाताबाट मात्र सम्भव हुने कुरा उल्लेख गर्दै मानवीय कार्यमा योगदान गर्ने सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

बाँके निवासी स्वयंसेवी रक्तदाता गोपीनाथ वैश्यले १ सय ५६ पटक, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ निवासी पवन जायसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरी इतिहास रच्नुभएको छ ।

उहाँहरुलाई दिवसका अवसरमा जनमत अर्धसाप्ताहिक र प्राजातन्त्रिक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी, सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

Previous articleअनुसन्धानका लागि राखिएको विभिन्न परिमाणको लागूऔषध नष्ट
Next articleनेपालगञ्जका युवाहरुले गरे भारतबाट दुई बालकको उद्वार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here