
नेपालगञ्ज । नेपाल भारत सीमा नजिकको जिल्ला चम्पावतबाट हराएका दुई नेपाली बालकको उद्वार गरिएको छ । भारतको चम्पावतस्थित वनवासाबाट हराएका तीन बालकमध्ये १४ वर्ष र ७ एक जना गरी दुई जनाको उद्वार गरिएको हो ।
यही जेष्ठ ७ गते उनीहरु विद्यालय गएको र नफर्किएर हराएका थिए । ती बालकहरुलाई नेपालगञ्जस्थित सहयात्री नेपालले उद्वार गरेर शुक्रबार नेपाल ल्याएको छ । हराएका बालकहरु फेला पारी भारतस्थित राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएको थियो । सहयात्री नेपालका पदाधिकारीले जानकारी पाएपछि भारत पुगेर उनीहरुको उद्वार गरेको हो ।
सहयात्रीले बालकहरुका बारेमा जानकारी पाएपछि प्रहरीसँग समन्वय गरेर उनीहरुको अभिभावक र ठेगाना पत्ता लगाएको थियो । हराएका बालकहरु कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका वडा नं-४ रहेको खुलेको थियो । ती बालकहरु भारतस्थित जिल्ला बाल कल्याण समिति, बरेलीको सिफारिशमा राजकीय बाल गृह, शाहजहांपुरमा रहेको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले जानकारी दिनुभयो ।
आफुहरुले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सो अन्तर्गतका प्रहरी कार्यालयसँगको सहकार्यमा बालकहरूको उद्धार गरि अभिभावकहरुको जिम्मा लगाइएको अध्यक्ष शाहीले बताउनुभयो । “स्थानीय सरकार र अधिकारीहरूसँगको समन्वयमा राजकीय बाल गृह, शाहजहांपुर र बाल कल्याण समिति बरेलीले विभिन्न कागजातहरु माग गरेको थियो,” संस्थाका अध्यक्ष शाहीले भन्नुभयो, “भारतमा माग गरिएका सबै कागजातहरू पुरा गरेर उद्वार प्रक्रियामा खटेका थियौं, फलस्वरुप ती बालकहरूलाई सुरक्षितरुपमा नेपाल ल्याएर परिवारको जिम्मा लगाउन सफल भएका हौं ।”
बालकहरुको उद्वारका लागि सहयात्री नेपाल नेपालगञ्जको टिम यही जेष्ठ ३० गते नेपालगञ्जबाट भारतको बरेली प्रस्थान गरेको थियो । बरेली पुगेको त्यसको भोलिपल्ट जेष्ठ ३१ गते बाल गृहमा कुरा गरेर १४ र ७ वर्षका दुई जना बालकहरुलाई उद्वार गरेको हो । हराएकामध्ये अर्काे १ जना १४ वर्षका बालकको उद्वार हुन बाँकी रहेको छ । अध्यक्ष शाहीका अनुसार ती बालकलाई हामी छिट्टै उद्वार गर्छौं । हामी उद्वार प्रक्रियामा नै छौं ।
ती बालकको कागजात मिलाउने प्रक्रिया भईरहेकाेले उद्वार हुन नसकेको अध्यक्ष शाहीले स्पष्ट पार्नुुभयो । बालकका बुबा रोजगारीका सिलसिलमा भारतमै रहेकाले उहाँलाई बोलाईको छ । “हामीले ती बालकका बुबासंग सम्पर्क गर्ने प्रयास गरेका छौं,” अध्यक्ष शाहीले भन्नुभयो, “छिट्टै ती एक जना बालकको समेत उद्वार गर्ने छौं ।”
सहयात्रीले गरेको पहल तथा बालकको उद्धार कार्यका लागि एन आर एन ए महिला मंच, नारी निकुञ्ज अष्ट्रेलियाले सहयोग गरेको उपलब्ध गराएको संस्थाकी सचिव अञ्जना चर्तुवेदीले जानकारी दिनुभयो । उद्वार टिममा संस्थाका देवा बहादुर क्षेत्री, माेहम्मद सलमान सल्मानी र आदित्य सिंह थापा रहनुभएकाे छ ।
विगतमा नेपालगञ्जमा बाल क्लबमा सक्रिय रहेको युवाहरुको टिम मिलेर सहयात्री नेपाल नामक संस्था बनाइएको छ । संस्था स्थापनादेखि सामाजिक कार्यमा सक्रियता देखाइरहेको छ ।





