
काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालकी १८ वर्षिय महिला छनौट हुन सफल हुनुभएको छ ।
बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा पर्नुभएकाे हाे ।
बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो ।
यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत रहनुभएकाे छ ।
सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइ सक्नुभएकाे छ । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहनु भएकाे छ ।
सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् । बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ ।
सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना समेत खुवाउँदै आउनुभएकाे छ ।





