
नेपालगञ्ज । नेपालगञ्जमा रोजगारीको हकको प्रभावकारी कार्यान्वयनका लागि पलिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको छ । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा सोमबार बसेको एक बैठकले रोजगार संवाद मञ्च गठन गरिएको हो ।
मञ्चको संयोजकमा नगर प्रमुख र सदस्यहरुमा उपप्रमुख, दुई जना वडाअध्यक्ष, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रमुख/प्रतिनिधि, नागरिक समाजका प्रमुख/प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रतिनिधि, गैरसरकारी संस्था महासंघ प्रतिनिधि, संयुक्त ट्रेड युनियन प्रतिनिधि, महिला उद्यमी संघको प्रतिनिधि, नगरस्तरीय सहकारी संजालको प्रतिनिधि, बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पालिकास्तरीय संजाल प्रतिनिधि र तालिम प्रदायक संस्था संजालका प्रतिनिधि, रोजगार संयोजक गरी १५ सदस्यीय गठन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रद्धारा रोजगारीको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलब्ध हुने रोजगारको अवसरको पहिचान, समस्याको निदान र रोजगारको क्षेत्रमा नविनतम उपाय र विधिको पहिचान गर्न रोजगार संवाद मञ्च गठन गरिएको रोजगार शाखा प्रमुख मञ्जु ज्ञवालीले जानकारी दिनुभयो । एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन), कार्यविधि २०८० ले पालिकामा रोजगार संवाद मञ्चको संचालन गर्ने तय गरेको छ । बसेको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रमको लागि सुझाव समेत संकलन गरेको छ ।
कार्यविधि अनुसार मञ्चले स्थानीय श्रम बजारमा श्रमिक, रोजगार तथा सीपको माग र आपूर्ति, स्थानीय स्तरमा रोजगार प्रवद्र्धनका लागि आवश्यक नीति, वजेट र कार्यक्रमको निर्माण, सञ्चालनमा आएमा कार्यक्रमकाहरको मूल्याँकन, प्रचार प्रसार आदि, रोजगारको अवसरहरुको संभावनाको पहिचान, अन्तरतह र अन्तर निकाय एवम् रोजगारदाता, शैक्षिक प्रतिष्ठान लगायत विज्ञहरुसँग समन्वय र सहकार्य, रोजगारदातासँग प्रत्यक्ष सम्बन्ध र सहकार्य, सार्वजनिक निजी अवधारणामार्फत कार्यान्वयन हुन सक्ने रोजगारमूलक आयोजनाको पहिचान, विभिन्न अध्ययन अनुसन्धान गर्न गराउन र स्थानीय तहको आवश्यकता अनुसारका अन्य क्रियाकलाप गर्न सुझाव सल्लाह पेश गर्नेछ ।
छलफलमा नगर प्रमुख विष्ट, उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं-१ का वडाअध्यक्ष प्रमोद रिजाल, नागरिक समाजको तर्फबाट कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजिन्द्र विक, महिला उद्यमी संघ बाँके अध्यक्ष सावित्रा बस्नेत, नेपाल पत्रकार महासंघ बाँके कार्यसमिति सदस्य भिष्म लोध, गैरसरकारी संस्था महासंघका प्रतिनिधि गणेश भट्टराई, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, रोजगार संयोजक ज्ञवाली, रोजगार सहायक अनुप बर्माको उपस्थिति रहेको थियो ।





