डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले आज बुधबार एक कार्यक्रमका विच डुडुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नुभएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहनु भएका चौधरीले पुर्ण खोप घोषणा गर्दै पालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सबै सरोकारवालाको सहयोगमा घोषणाको कार्यले पुर्णता पाएको बताउनुभयो ।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले डुडुवाले पशु स्वास्थ्य उपचारमा अधिराज्यकै नमूना पालिकाको रुपमा काम गरिरहेको दाबी गर्दै स्वास्थ्य क्षेत्र पनि मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य लगायतका सेवालाई प्रभावकारी बनाउन सिसि क्यामरामार्फत निगरानीसमेत गरिरहेको भन्दै अझ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

अध्यक्ष चौधरीले पालिकाका तीन स्थानमा निःशुल्क प्रयोगशालामार्फत सेवा प्रदान गर्दै आएकोले अब तीन नं. वडामा थप प्रयोगशाला संचालन गर्न लागेको जानकारी गराउनुभयो । पालिकाले विशेष रणनीतिका साथ शिक्षा लगायतका क्षेत्रमा विशेष योजना अघि बढेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जन्मिएका बालबालिकाहरुको पहिलो सुरक्षाको रुपमा खोप रहेकोले सबै बालबालिकाहरुलाई सम्पूर्ण खोप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने भएकाले कुनैपनि खोप छुटाउन नहुने भन्दै सबैले आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

गाउँ समुदायमा खोज पड्ताल गरि खोप लगाउन छुटेका १४३ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार डुडुवामा ३ हजार ३११ बालबालिकालाईलाई खोप लगाउने लक्ष्य सत प्रतिशत पुरा भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्थानीय समन्वय अधिकारी विक्रम प्रसाद पाण्डे, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, वडा सदस्य राधेश्याम मौर्य, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुती शर्मा, सरला न्यौपाने, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेशबाबु श्रेष्ठ, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो ।

Previous articleरुपैडिहाबाट नेपाली स्कुटी चोरी गर्ने नेपालगञ्जका एक युवक पक्राउ
Next articleदलितमैत्री योजना बनाउन संयुक्त दलित संघर्ष समितिद्वारा दबाब सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here