
दाङ । दाङको तुलसीपुरबाट १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं-३ का ४० वर्षीय टेकबहादुर बोहरा, आठबिसकोट वडा नं-२ की ४५ वर्षीया मनकुमारी बोहरा र मुसिकोट नगरपालिका वडा नं-६ का ३० वर्षीय मोहन पुन पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार उनीहरू अघिल्लो दिन बिहान मात्रै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं-८ शुभबिहानी टोल आएका थिए । त्यहाँ डेरा बस्दै आएका एक आफन्तकहाँ उनीहरू पाहुना लाग्न आएका थिए ।
प्रहरीले गोप्य सुराकका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । मंगलबार बेलुका साढे ६ बजेतिर सादा पोशाकमा सात जना प्रहरी खटिएका थिए ।
टोलीले खानतलासी गर्ने क्रममा तीन जनाबाट १३ किलो अफिम फेला पारेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।





