‘डेंगुको जोखिम नियन्त्रणका लागि सरसफाईमा जोड दिऔं’

नेपालगञ्ज । बाँकेमा डेंगु रोगको नियन्त्रणका लागि सबै तहका व्यक्तिहरु सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । जिल्लामा डेंगु संक्रमणको जोखिम बढ्ने समय आउन थालेको र यसको नियन्त्रणमा एकको मात्रै प्रयास प्रभावकारी नहुने भएकाले सबै तहका व्यक्तिहरु सक्रिय बन्नुपर्ने एक कार्यक्रममा जोड दिइएको हो ।

डेंगु संक्रमणको जोखिम जिल्लामा उच्च छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको संक्रमण देखिएको छ । लामखुट्टेको टोकाईबाट हुने यो रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयको एक्लो प्रयासले जोखिम कम गर्न नसकिने हुँदा हरेक तहका व्यक्तिहरुको प्रयासमा जोड दिइएको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले डेंगु हुन सक्ने स्थानहरुको खोजी गरिने नष्ट गर्नुपर्ने बताउनुभयो । उहाँले डेंगुको बासस्थानका रुपमा रहेका पानी जम्ने सम्भावित ठाउँहरुको दैनिक सरसफाईमा नागरिक सक्रिय हुन अनुरोध गर्नुभयो ।

डेंगु रोग सम्बन्धि नेपालगञ्जमा भएको अभिमुखिकरण तथा अन्तरक्रियामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाका प्रत्येक कार्यालयहरुमा सरसफाई अभियान चलाउन निर्देशन दिने बताउनुभयो । उहाँले सरकारी कार्यालयका साथै नागरिक स्वयंले पनि आफ्ना घर वरपर पानी जम्ने ठाउँहरुको खोजी गरि नियन्त्रण सरसफाई गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंग बहादुर शाहीका अनुसार डेंगुको जोखिम मुख्यगरी चार महिना जुलाईदेखि नोभेम्बरसम्म हुन्छ । यो समय लामखुट्टेको सक्रियता बढी रहन्छ । डेंगुको संक्रमण भएको लामखुट्टेले एक पटकमा करिब ४ देखि ५ जनासम्म रोग सार्ने क्षमता रहेको हुन्छ । पछिल्लो ६ महिनाको यता मात्रै नेपालमा १ हजार २ सय ६८ जना डेंगु रोगबाट संक्रमित भएका छन् ।

बाँकेमा भने यो वर्ष हालसम्म ४०५ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालय बाँकेका डेंगु रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आठ वटै स्थानीय तहहरुमध्ये हाल राप्ती सोनारीमा ५, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा ९, खजुरा गाउँपालिकामा ४, जानकी गाउँपालिकामा ५, नेपालगञ्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा ६ जना डेंगुका बिरामी रहेका छन् ।

डेंगुको विषाणुद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाईगर लामखुट्टे भन्ने गरिन्छ । यसले एक पटक मात्रै पनि टोक्दा डेंगी रोग सर्छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ ।

चार प्रजातिको हुने यो जिवाणुले एक पटक एउटा प्रजातिले डेंगी लागिसकेपछि जीवनभर त्यसै प्रजातिको डेंगी रोग लाग्न नसक्ने पनि दोस्रो पटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी खतरनाक हुने स्वास्थ्यकर्मी बताउँछन् । यसले बर्षातको मौसममा महामारीको रुप लिने गरेको र जमेको सफा पानीमा यसले अण्डा पार्ने गर्छ । यो लामखुट्टले बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म टोक्ने गर्छ । प्राय घरभित्रै बस्छ र घरकै मान्छेलाई टोक्छ भने यो गाउँभन्दा पनि शरहमा बस्न रुचाउँछ ।

५० वर्षमा यो रोग ३० गुणाले बढेको पाइएको छ । विश्वको आधाभन्दा बढी जनसंख्या रोग रोगको जोखिममा रहेका छन् । १२८ भन्दा बढी मुलुकमा ३.९ अर्ब मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बासोबास गर्ने गर्दछन् भने प्रत्येक वर्ष झण्डै ३९ करोड मानिसमा डेंगी रोगको संक्रम हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यू हुने गरेको तथ्याँकले देखाउँछ ।

Previous articleप्रेस युनियनले देशभर पत्रकार महासंघमा धर्ना दिने
Next articleप्रेस युनियन बाँके शाखाद्वारा पत्रकार महासंघ बाँकेमा धर्ना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here