सुर्केगाडका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । आयोगका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही रहनुभएको छ ।

अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित हुनुभएको थियो । तर हाल उहाँ नेकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष हुनुहुन्छ ।

यस्तै, मुद्दा दर्ता गरिएका कर्मचारीहरूमा गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया हुनुहुन्छ ।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिनुभयो ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५।०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप बुढामाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पण्डित र सब–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढा विरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ । कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यसैगरी रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । मासु पसल भवन निर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी काम भएको भन्दै भुक्तानी लिएको आयोगको दाबी छ ।

Previous articleतातेताते र शङकामाथि परिचर्चा
Next articleबाँकेमा २४ लाख रूपैयासहित हुण्डि कारोबारमा संलग्न चार जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here