बाँकेमा ६४ फरार प्रतिवादी पक्राउ, ८५ लाखको तस्करीको सामान बरामद

नेपालगञ्ज । बाँकेमा एक महिनामा ६४ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लामा २०८१ को असार महिनामा ६४ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

३ वर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने ६४ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुलाई कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

यस्तै असार मसान्तसम्म प्रहरीले ८५ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान, अवैध तस्करीमा प्रयोग भएको एउटा भ्यान र ३ वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको बाँके प्रहरीले जनाएको छ ।

अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको १ लाख ६० हजार रुपैयाँको ब्रोइलर कुखुराको चल्ला बरामद गरेर पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाएको छ ।

त्यस्तै बाँकेभर गरिएको ट्राफिक कारबाहीतर्फ २ हजार ७ सय ५४ वटा सवारी साधनलाई कारबही गर्दै असारभर २१ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

प्रहरीले असारमा दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ भने ५४ वटा पेन्डिङ भएका मुद्दालाई फर्छ्यौट गरेको हो ।

असारभर प्रहरी कार्यालयमा परेको ठाडो उजुरीतर्फ ४२४ वटा मुद्दा प्राप्त भएको ३५२ फर्छ्यौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाइएको र ६२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँँगीले बताउनुभयो ।

लागूऔषध ओसारपसारबिरुद्धको अपरेसनमा बाँके प्रहरीले २५ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित १७ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको छ ।

बाँके प्रहरीले असार ३० गते नेपालगञ्ज ४ स्थित आफ्नै घरबाट हराएको मोटरसाइकल फेला पार्दै सम्बन्धित सवारी धनीको जिम्मा लगाएको जानकारी दिएको छ भने हराएका १५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ ।

त्यस्तै प्राचीन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको डिएसपी डाँँगीले जानकारी दिनुभयो । महिला तथा बालबालिका सम्बन्धि मुद्दातर्फ असारभर बाँके प्रहरीमा १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो ।

घरेलु हिंसातर्फ ७० वटा उजुरी प्राप्त भएकोमा ४६ वटा फर्छ्यौट भएको र बाँकी अनुसन्धानको क्रममा रहेको छ । असारमा मात्रै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ३४ निवेदन प्राप्त भएकोमा १४ जना फेला पारी परिवारको जिम्मा लगाएको तथा बाँकीहरुको खोजतलास जारी रहेको बाँके प्रहरीको तथ्याँकमा उल्लेख छ ।

Previous articleबाँकेका दुर्गम गाउँमा विद्युत नपुग्दा स्थानीयलाई सास्ती
Next articleमहिला एसिया कप : नेपालद्वारा यूएई पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here