
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने दातालाई उपमहानरपालिकाले सम्मान गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ को कार्यालयले स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने गजेन्द्र बहादुर हमाललाई आइतबार सम्मान गरेको हो ।
पूर्व संघीय मन्त्रीसमेत रहनुभएका हमाले सो वडाको स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान गर्नुभएको थियो ।
जग्गादाताको सम्मानसँगै चौकी परिसरमा स्वर्गीय बोधेन्द्र बहादुर हमाल एवम् स्वर्गीय गोरख देवी ठकुरानीको प्र्रतिमा अनावरण गरिएको छ ।
वडा नं-१२ का वडाअध्यक्ष तरुण बज्राचार्यको अध्यक्षता तथा प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ एवम् समाजसेवी सनत रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमसँगै स्वास्थ्य चौकी परिसरमा बृक्षारोपणसमेत गरिएको छ । सितलचिनी, निम, गुलमोहर लगायतका करिब ५० वटा बिरुवा रोपिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारी, निवर्तमान सभापति किरण कोइराला, क्षेत्र नं-२ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
हाल करिब चार करोड मुल्य पर्ने पाँच कठ्ठा जग्गा पूर्व मन्त्री हमालले २०६० सालमा स्वास्थ्य चौकीका लागि जग्गा दान गर्नुभएको थियो ।





