वीपी स्मृति दिवस: बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

नेपालगञ्ज । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२ औं स्मृति दिवस मनाएको छ । कांग्रेस बाँकेले आज आइतबार बिहान नेपालगञ्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो ।

कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताउनुभयो ।

यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा फुल्टेक्रा मावि प्रथम, धम्बोझी मावि द्वितीय, आदर्श मावि तृतीय र महाराजा मावि सान्त्वना भएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरुलाई कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कार्यबाहक सभापति अधिकारी, लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा (चौधरी), सचिव कोइराला, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा फुल्टेक्रा मावि, महाराजा मावि, सरस्वती मावि, धम्बोझी मावि, नारायण मावि, नेपालगञ्ज कन्या मावि, आदर्श मावि, युद्ध संस्कृत मावि र मंगल प्रसाद मावि सहभागी थिए ।

त्यसक्रममा बोल्दै केन्द्रीय सदस्य बाल्मिकीले वीपी कोइरालाको विचार र आदर्श कांग्रेस मात्र नभएर मुलुककै लागि अपरिहार्य र अनुकरणीय रहेको बताउनुभयो । उहाँले वीपीले परिकल्पना गरेको नेपाल बनाउन सबै दृढ संकल्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यबाहक सभापति अधिकारीले महामानव वीपी कोइराला नेपाली राजनीतिको आदर्श ब्यक्ति भएको चर्चा गर्दै कोइरालाले देखाएको बाटोमा हिँड्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।

अधिकारीले वीपीमा देश बनाउने सपना र हुटहुटी भएपनि समय नरहेको बताउँदै अब समकालीन नेताहरुले उहाँको सपना पूरा गर्न राजनीतिक संकल्प लिनुपर्नेमा जोड दिनुभयो ।

Previous articleसामाजिक सुरक्षा सेवाका लागि तत्काललाई परिचयपत्र नचाहिने
Next articleसाउनको पहिलो सोमबार : शिवालयमा पुजाआजा गर्नेको भिड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here