
गुलरिया (बर्दिया) । बर्दियाका शिक्षकहरुका लागि सकारात्मक सिकाइ वातावरण सिर्जना विषयक दुई दिने क्षमता विकास गोष्ठी गुलरियामा सम्पन्न भएको छ । जिल्लाका ४ वटा पालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी २५ जनालाई गोष्ठी संचालन गरिएको थियो ।
शिक्षकहरुमा व्यक्तिगत एवम् पेशागत हिसावले सकारात्मक सोंचको विकास गरी विद्यालयको शैक्षिक वातावरणलाई तदनुरुप विकास गर्ने, विद्यालयमा बालमैत्री र लैङ्गिकमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नका लागि शिक्षकहरुमा आवश्यक सिप र क्षमताको विकास गर्ने मुख्य उद्धेश्यसहित गोष्ठि संचालन गरिएको थियो ।
गोष्ठिमा सहभागि प्रधानाध्यापक तथा शिक्षकहरुले सिकेका कुराहरु कार्य क्षेत्रमा सबैको सहमतिमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । पाठ्यक्रमले अपेक्षा एवम् निर्धारण गरेका परियोजना कार्य र अन्य प्रयोगात्मक क्रियाकलापहरूलाई उपयुक्त किसिमले योजना बनाइ कार्यान्वयन गरेको हुनुपर्ने, कुनैपनि पाठको सहजीकरण गर्नु पूर्व पाठमा भएका कुरा सिकेपछि हुने फाइदालाई संक्षेपमा उल्लेख गर्दै शिक्षण गर्नुपर्ने प्रतिबद्धता जनाइएको छ ।
यस्तै मूल्याङ्कन गर्दा एप्पल विधि अवलम्बन गर्नुपर्ने, कम्तिमा माध्यमिक तहमा कक्षा अर्थात ग्रेडका आधारमा नभइ विषयको आधारमा शिक्षण सिकाइ कक्षको व्यवस्थापन गरी कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई अनुपस्थित भएकै दिन अविलम्ब सम्पर्क गरी अनुपस्थितिको कारण र समाधानका उपायका सम्बन्धमा विद्यालयले अभिभावकसँग सहकार्य गर्नुपर्नेसहित ३१ बुँदाहरुमा प्रतिबद्धता जनाएको बिग्रुपका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
विद्यार्थी , अभिभावक र शिक्षाका सरोकारवालाहरुसँग मुस्कुराउदै प्रस्तुत हुने क्षमताको विकास गर्ने, विद्यार्थीहरूलाई पहिलो नामबाटै सम्बोधन गरी भलाकुसारी र संवाद गर्नुपर्ने, शिक्षकले आफूले सहजीकरण गर्नुपर्ने हरेक विद्यार्थीहरूको सक्षमता र सम्भावनाहरूको पहिचान गरी उनीहरूलाई उक्त पक्षको प्रवद्र्धनका लागि सहयोग र परामर्श प्रदान गर्नुपर्ने भन्दै साझा प्रतिबद्धता जनाएका हुन् ।
भेरी विशिष्टता समुह (बीग्रुप) को आयोजना र प्लान नेपालको आर्थिक सहयोगमा बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत संचालन गरिएको गोष्ठीलाई कर्णाली प्रदेशका पुर्व सदस्य जीतबहादुर शाहले सहजीकरण गर्नुभएको थियो ।





