
काठमाण्डौं । मंगलबारदेखि परेको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्रमा बाढी पसेको छ ।
उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी आवागमन प्रभावित बनेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका २०८ मध्ये १८० वटा केन्द्रमा पानी परेको छ ।
मौसमविद् सुदर्शन हुमागाईंले ९ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा रुपन्देहीको तिलोत्तमामा सबैभन्दा बढी अर्थात् १८०.२ मिलिमिटर वर्षा भएको छ ।
बाँकेको खजुरामा पछिल्लो १ घन्टामा ६२.२ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्ज विमानस्थलमा ३५.२ मिलिमिटर वर्षा भएको छ । बर्दियाको रम्भापुरमा २१.८ मिलिमिटर पानी परेको छ ।
मौसमविद् हुमागाईंका अनुसार पछिल्लो २४ घन्टामा ५० वटा केन्द्रमा ५० मिलिमिटर वर्षा भएको बताउनुभयो । जसअनुसार देशभर औसत वर्षा मापन गर्दा ३५.३ मिलिमिटर हुन आउँछ ।
लगातारको वर्षापछि देशका विभिन्न स्थानका १३ ठाउँमा सडक अवरूद्ध छन् । डुम्रेबेसी-चामे सडक अवरूद्ध बनेको छ । रातोडाँडा बिसौनी, स्याङ्वामा कालीगण्डकी करिडोर अवरूद्ध बनेको छ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग कुखरेटार सिन्धुलीमा अवरूद्ध छ । पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुलीकै सुमनाम बेंसी र खोटाङको पंखु खोलामा पनि अवरूद्ध छ ।
पूर्वपश्चिम राजमार्ग महोत्तरीको ढुंग्रे खोलामा अवरूद्ध छ । अरनिको राजमार्ग पनि सिन्धुपाल्चोकको खाग्दल र दक्लाङमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ ।
भालुबाङ-दारबोट सडक प्यूठानको गर्जेनीमा अवरूद्ध छ । उक्त सडक प्यूठानको ठूलो खोला र हेडरसमा पनि अवरूद्ध छ । तानसेन-रिडी-कोरला सडक पनि पाल्पाको अर्सेदीमा अवरूद्ध छ ।
बालाजु हुँदै रसुवाको स्याफ्रबेंसी पुग्ने सडक नुवाकोटको बेतिनी जंगलमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ । देशभर १८० स्थानमा सडक एकतर्फी रहेको र १७७ स्थानमा अवरूद्धपछि खुलाइएको पनि विभागले बताएको छ ।
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार मंगलबार रातिको बाढीले जलविद्युत् आयोजनाका दुई जना कामदार हराएका हुन् ।
बर्दियाको बाराबर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता हुनुभएको हो । बाढीमा परेका २६ वर्षीय रामकिसन थारूको उद्धार गरिएको छ ।
सामान्य घाइते भएका उहाँको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।
प्रहरीचौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चार जनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सात जनाको टोली खोजीको लागि खटिएको छ ।
पहिरोले कालीगण्डकी करिडोर बन्द
वर्षापछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।
करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।
ललितपुरका विभिन्न स्थान डुबानमाः२४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
मंगलबार राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका-९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौं, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ,’ सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
ललितपुर महानगरपालिका-२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं-१ कुपण्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका-९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।
बाढीका कारण गोदावरी नगरपालिका-१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका-८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका-३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।
काठमाडौंमै ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।
काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका-८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।
बल्खुमा एक जनाको शव फेला
काठमाडौंको बल्खुमा बागमती नदीको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।
काठमाडौं उपत्यकामा मंगलबार राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खु खोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो ।
बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।
साँफे-मार्तडी सडक अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका-६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ।
एक महिनादेखि अवरुद्ध मार्तडी-कोल्टी सडक भने अझै बन्द छ। उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा मंगलबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार केही वर्षअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थल हो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ । सेतोपाटी





