
नेपालगञ्ज । नाईस अवार्ड-२०२४ बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं-५ की तारा ओलीलाई प्रदान गरिएको छ । नाईस नेपालगञ्जले प्रत्येक वर्ष प्रदान गर्दै आएको नाईस अवार्ड यो वर्ष उहाँको संघर्षको सम्मान गर्दै समाजसेवी ओलीलाई प्रदान गरिएको हो ।
संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको नगद दश हजार राशीको यो अवार्ड आइतबार नेपालगञ्जमा आयोजना गरिएको तेस्रो अधिवेशनको अवसरमा प्रदान गरिएको हो । लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज वडा नं-९ का वडा अध्यक्ष गोविन्द्र प्रसाद रेग्मी लगायतले ओलीलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।
सो क्रममा बोल्दै प्रदेशसभा सदस्य काफ्लेले एउटा महिलाको मुल्याँकन गरिएकोमा संस्थालाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता संघर्षशील महिलाहरुको सम्मान हुुनुपर्ने धारणा राख्नुभएको थियो । समाजमा थुप्रै महिलाले संघर्षपूर्ण जीवन ब्यातित गरिरहेकाले हामीजस्ता समाजका अगुवाले यस्ता महिलाहरुको सम्मानका साथ बाँच्ने वातावरण निर्माण गरिदिनुपर्ने बताउनुभयो ।
नाईस अवार्डबाट सम्मानित अग्रज पत्रकार झलक गैरैले आफु पुरस्कृत हुने बेला महिलाहरुलाई यो सम्मान दिन सके अझ राम्रो हुने धारणा राखेकोमा यो वर्ष महिलालाई प्रदान गरिएकोमा यस कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा वडाअध्यक्ष रेग्मी, बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी लगायतले बोल्नुभएको थियो ।
पुरस्कृत ओलीले लामो समयदेखि राप्ती सोनारीमा बागेश्वरी बाल असहाय सेवा केन्द्र संचालन गर्दै आउनुभएको छ । समाजको अनेकौं लाच्छनालाई संहदै अगाडी बढेर वली असहाय बालबालिकाहरुको सेवामा लाग्नुभएको छ । यस क्रममा धेरै दुःखको सामाना गर्नु परेको वलीले कार्यक्रममा सुनाउनुभयो ।
विकास र सकारात्मक पत्रकारिताका माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएबापत यसअघि नाईस अवार्ड-२०२३ अग्रज पत्रकार गैरेलाई प्रदान गरिएको थियो भने नाइस अवार्ड-२०२२ समाजसेवी प्रवेज अलि सिद्धिकी र नाईस अवार्ड-२०२१ लागूऔषध बिरुद्धको अभियान्ता अभिराज क्षेत्रीलाई प्रदान गरिएको थियो ।
राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले जानकारी दिनुभयो ।





