
बुटवल । संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ ।
लैंङ्गिक समानता र सामाजिक समावेशीकरण विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो ।
कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको पहिलो दिन लैंङ्गिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो । जसमा प्रदेश र स्थानीय तहमा रहेका लैंङ्गिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो ।
कार्यशालामा बोल्दै संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले समाचारका स्रोत धेरै भएपनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउँदै समाचारलाई गुणस्तरिय र पठनयोग्य बनाउन अध्ययन जरुरी रहेको धारणा राख्नुभयो ।
कार्यशालामा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताउनुभयो ।
उहाँले सबै क्षेत्रलाई सबैले आफनो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचर बन्न सक्ने बताउनुभयो । कार्यशालमा रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीका १५ पत्रकार महिलाको सहभागिता रहेको छ ।
युएसएआइडी नागरीक समाज र सञ्चार कार्यक्रम अन्र्तगत संचारिका समुह नेपालले कार्यशालाको आयोजना गरेको हो ।





