
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बिमानस्थलबाट स्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० नेपालगञ्ज बिमानस्थल भएर काठमाण्डौ जान लागेका पाँच भारतीय नागरिकहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतको उत्तर प्रदेशको सितापुर जिल्लाको थाना कोतवाली बस्ने ४४ वर्षीय प्रकाश नारायण गुप्ता, सोही ठाउँका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ३९ वर्षीय पंकज जैसवाल र ४६ वर्षीय बिमल गुप्ता रहेका छन् ।
बिमानस्थलमा चेकजाँच गर्ने क्रममा निजहरुको साथमा जम्मा २४ लाख स्रोत नखुलेको रकम फेला परेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।
उक्त रकमसहित पक्राउ गरी हुण्डी कारोबार सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट दिन चारको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





