
नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेले विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकारहरुसँग आफ्नो कुरा राख्दै सभाको नवनिर्वाचित नेतृत्वले योजनाहरु सार्वजनिक गरेको हो ।
थाकस नवनिर्वाचित अध्यक्ष संगिता चौधरीले आफ्नो कार्यकाल अवधिभर गर्ने कार्यहरु सार्वजनिक गर्नुभएको थियो । सो क्रममा नवनिर्वाचित सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पहिलो पटक महिला नेतृत्व भएको थाकसले ५ बुँदै योजनाहरु अगाडी बढाउने जनाएको हो । योजनाहरुमा हालसम्म थाकसको सम्पर्क कार्यालय नभएकाले कार्यालय व्यवस्थापन गर्ने, थाकसको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने, थारु समुदायको विभिन्न चाडपर्वहरु भब्यताका साथ मनाउनका लागि विभिन्न ठाउँहरुमा कार्यक्रम गर्ने रहेका छन् ।
यस्तै गाउँपालिकाहरुमा रहेका थाकसका समितिहरुलाई सक्रिय बताउने तथा वडास्तरमा समेत समिति निर्माण गर्ने र विभिन्न प्रकारको सामाजिक कार्यका लागि प्रदेश, संघ तथा गैरसकारी संघ संस्थाहरुसँग समन्वय सहकार्य गरी कार्यक्रमहरु ल्याउने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
विं.सं २००५ सालमा बारा जिल्लाको ककडी गाउँमा भएको भेलाबाट थारु सभाको जन्म भएको हो भने विं.सं २००७ साल बैशाख १ देखि ७ गतेसम्म ककडीमै भएको थारु सभाको प्रथम सम्मेलनले थारु कल्याण कारिणी सभाको नामाकरण गरिएको थियो ।
हालसम्म दशौं नेतृत्व पुरुषले पाएको सभाको यही साउन ३२ गते नेपालगञ्जमा सम्पन्न ११ औं अधिवेशनबाट पहिलो पटक महिला नेतृत्व पाएको छ । ११ औं अधिवेशनले संगिताको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।





