खजुरामा हुने तीज महोत्सवलाई भब्य बनाइने

खजुरा । बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ ।

यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९ औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो ।

परापूर्वकालदेखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताउनुभयो ।

हराउँदै गएको मौलिकतालाई जोगाउन यस वर्ष पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता राखिएको सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले बताउनुभयो ।

तीजका नाममा आएका छाडा र उच्सृङ्खल गीत संगीतले समाजमा बिकृत्ति उत्पन्न गरेको बताउँदै भण्डारीले खजुराको महोत्सवमा मौलिकता र परम्पराको झल्को पस्किने प्रयास गरिने जानकारी दिनुभयो ।

यसवर्षको महोत्सवको सहयोग पूर्णरुपमा धार्मिक कार्यमा लगानी हुने भएकाले मन फुकाएर सहयोग गर्न आर्थिक समितिका संयोजक विजय बुढाथोकीले आह्वान गर्नुभयो ।

दाताहरुले सहयोग गर्ने एक एक रुपैयाँ लक्ष्मीनारायणधाम निर्माणमा प्रयोग गरिने उहाँले बताउनुभयो । उहाँले समाजमा विशिष्ट योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गरिने जनाउँदै मौलिक भेषभुषामा आउने दर्शकबाट समेत एकजनालाई पुरस्कृत गरिने बताउनुभयो ।

यसवर्ष स्टल राख्ने उद्योगी ब्यवसायीलाई आयोजकले स्थानको ब्यवस्था गरिने जानकारी दिँदै आयोजक समितिका सदस्य सचिव सुरेश खत्रीले हजारौं महिला दिदीबहिनीबीच आआफ्नो उत्पादनको प्रचार गर्न पनि सकिने बताउनुभयो ।

त्यससँगै मौलिक र रैथाने परिकारका स्टलहरुबाट परम्परागत खानाको स्वाद समेत महोत्सवमा उपलब्ध हुने उहाँले जनाउनुभयो ।

तीजका दिन (भाद्र २१) गते १ दिन संचालन हुने महोत्सवमा लाखे नाच, स्थानीय कलाकारहरुको अप्रतियोगी गीत तथा नाच पनि प्रदर्शन हुने आयोजकले जनाएको छ ।

तीज महोत्सवमा हरेक वर्ष खजुरामा स्वस्फुर्त हजारौंका संख्यामा महिला पुरुषको जमघट हुने गरेको छ ।

Previous articleयुवा घरको अध्यक्षमा पुनः भण्डारी चयन
Next articleटरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here