नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका भएर बग्ने राप्ती नदीको पानी पुर्याएर नेपालगञ्जको खानेपानीको समस्या समाधान शुरु गरिएको योजना हालसम्म संचालन हुन सकेको छैन ।
सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना शुरु भएको लामो समय भइसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन ।
आर्थिक वर्ष २०७४र७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगञ्जबासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् ।
खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार डुडुवा–५, कम्दीस्थित राप्तीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।
कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले ३३ करोड रुपियाँको लागतमा सम्पन्न हुने भनिएको उक्त आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको बताउनुभयो ।
पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गाधनीले अदालतमा मुद्दा हालेको र करिब १५ कट्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ ।
पाइपलाइनका लागि कम्दीस्थित डुडुवाखोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ । हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगञ्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने गरेको छ । उपमहानगरका अधिकांश स्थानमा सर्वसाधारणले गाडेका ह्यान्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताउनुभयो ।
उहाँका अनुसार यो आयोजना सम्पन्न भएपछि नेपालगञ्जबासी खानेपानी समस्याबाट मुक्त हुने छन् । उक्त आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वेल’ बनाइएको छ । ‘सम्प वेल’ मा हाल दुई थान पम्प जडान गरिएको छ ।
हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगञ्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगञ्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ ।