
सिराज खान,
नेपालगञ्ज । बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ ।
पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो ।
पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै उहाँले उपचारका लागि आउने बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस पनि देखिएको बताउनुभयो । उहाँले अझै पनि चार–पाँच जना डेंगु र स्क्रवटाइफसका बिरामीहरू उपचारार्थ रहेको जनाउनुभयो ।
यसैगरी, केयर सिटी अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु थापाले दुई तीन महिनाका शिशुहरूमा पनि डेंगु र स्क्रवटाइफस देखिएको जनाउँदै अघिल्लो महिनादेखि अहिलेसम्म १५–१६ जना डेंगुका र ८१० जना स्क्रपटाइफस भएका बालबालिकाहरू उपचारका लागि आइसकेको बताउनुभयो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डा.पीयूष कनोडियाले पनि डेंगु र स्क्रवटाइफसका बालबालिकाहरू बढेको बताउनुभयो । उहाँले पछिल्लो एक महिनामा अस्पतालमा आफूले १५–२० जना डेंगु र स्क्रपटाइफसका बिरामी बालबालिकाको उपचार गरेको जनाउनुभयो ।
असहाय हुनेगरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएपछि डेंगु भएको हुन सक्ने डा.कनोडियाले बताउनुभयो ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने स्क्रबटाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले ९माईट० टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रबटाइफसका लक्षणहरू रहेको नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा। सकिल अहमदले बताउनुभयो ।
उहाँले स्क्रबटाइफस लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने पनि बताउनुभयो ।





