काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूको सुरक्षाका लागि कानुन संशोधनको तयारी गरेको छ । पछिल्लो समय उपचारका सिलसिलामा चिकित्सकहरूमाथि आक्रमण हुने घटना बढेका छन् ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक दोस्रो संशोधन मस्यौदा तयार गरेको हो । उक्त मस्यौदा कानून मन्त्रालयमा राय माग गर्दै पठाइएको छ ।
प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ ।
बिरामीको उपचारका क्रममा बेलाबेलामा आफूहरूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै चिकित्सकहरूले लामो समयदेखि सुरक्षा माग गर्दै आएका थिए ।
यो मागलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो ।
सोही अनुसार कानून संसोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो । संशोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको भनाइ छ ।
कानून मन्त्रालयबाट राय प्राप्त भएपछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।