
नेपालगञ्ज । स्वास्थ्य सेवा प्रवाहमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आठ वटा स्थानीय तह रहेको बाँकेमा डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाह मुल्याँकनमा जिल्लाकै पहिलो पालिका हुन सफल भएको हो ।
आर्थिक वर्ष २०८०/२०८१ को जनस्वास्थ्य सम्बन्धी कार्यक्रम र स्वास्थ्य सेवा प्रवाहको प्रगति तथा समिक्षा गोष्ठीको अवसरमा पालिकालाई सम्मानित गरिएको छ । ७२ दशमलव ४२ स्कोरका साथ डुडुवा प्रथम स्थानमा आउन सफल भएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले समयपत्रकर्मीसँग कुरा गर्दै जानकारी दिनुभयो ।
नेपालगञ्जमा भएको दुई दिने गोष्ठीको अवसरमा बुधबार पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्मालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको हो । जिल्लाको स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा अनुसार डुडुवा गत वर्ष दोस्रो भएको थियो ।
तथ्याँक अनुसार जानकी गाउँपालिका दोस्रो हुन सफल भएको छ । गत वर्ष उत्कृष्ट भएको थियो । यस्तै खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौं, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौंमा रहेको छ ।
समिक्षा कार्यक्रमको अवसरमा जिल्लामा उत्कृष्ट भएका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।





