मिस्टर काठमाण्डौं प्रतियोगिताका उपविजेता कुरेसीलाई जसपाद्वारा सम्मान

नेपालगञ्ज । काठमाण्डौमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उपविजेता बन्नुभएका नेपालगञ्जका सलिम कुरेसी (रिहान मलिक) लाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।

पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै उपबिजेता बन्नुभएका कुरेसीलाई केन्द्रीय नेतृत्वसहितको टिमले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव एवं पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले प्रतियोगितामार्फत बाँके जिल्ला र नेपालगञ्जको गरिमा बढाउने कार्यको प्रशंसा गर्नुभयो ।

आफ्नो गाउँ ठाउँ र क्षेत्रको पहिचान युवाहरुले बनाउन सक्ने भएको र यस्ता प्रतियोगिताले युवाहरुलाई अन्य नकारात्मक कार्यतर्फ प्रेरित हुनबाट रोक्ने बताउनुभयो ।

पार्टीले यस्तो खालको शारीरिक सुगठन प्रतियोगिताका लागि पहल गर्ने पुर्व मन्त्री राईको भनाई थियो । उहाँले स्थानीय सरकारले पनि यस क्षेत्रमा लाग्ने खेलाडी तथा खेलका लागि गम्भीर बन्नुपर्ने धारणा समेत राख्नुभयो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य आदेश अग्रवालले उपविजेता बन्न सफल बनेकोमा बधाई ज्ञापन गर्दै यस्तो खालको प्रतियोगिताहरु आगामी दिनमा हुनका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । उहाँले राष्ट्रियस्तरमा बाँकेको शान बढाउन खेलेको भूमिकाप्रति कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।

पार्टी बाँकेका अध्यक्ष दुर्गा प्रसाद बर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्लाका पदाधिकारी, समाजवादी युवा संघका जिल्ला अध्यक्ष मोहम्मद अहमद राई लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले समेत उपविजेता कुरेसीलाई खादा र मालाले सम्मानित गरेका थिए ।

नेपालगञ्जमा रहेको माई फिटनेस जिमका कुरेसी काठमाण्डौंमा हालै सम्पन्न भएको राष्ट्रिय पाँचौं खुला मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगितामा ओभर अल ओपन वेटमा उपविजेता हुन सफल हुनु भएको छ ।

यस्तै ७० केजी पुरुष मास्टर्स प्रतिस्पर्धामा तेस्रो बन्न सफल हुनु भएको छ । सो प्रतियोगितामा २०८ जना खेलाडी सहभागि भएका थिए ।

Previous articleबारबर्दियामा महिलाको हत्या, एक जना पक्राउ
Next article१२ सय बढी कर्मचारीको सरुवा (सूचीसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here