बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक दलहरुमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताउनुभएको हो ।
उहाँले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको दावी गर्दै दिर्घकालीन लक्ष्य निर्धारण गरेर योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
साझा अधिकार सूचीका कानुनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । कानुनहरू संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।