
नेपालगञ्ज । चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।
वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब (PJ Club) का पूर्व अध्यक्ष विकास कार्कीकाे नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरुमा समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation), कृषी (Agriculture), खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् ।
हरेक बिधामा १ जना ब्यक्तिले २ वटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिनेछ ।
‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ’, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भन्नुभयाे, ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’
फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणकालागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउने छन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम पनि गर्नेछ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि राखिनेछ । फेस्टिवलपछि फोटोहरु राजधानी काठमाण्डौं र मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।
पुरस्कार राशी दोब्बर
बर्ष फोटो (Photo of the Year) फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस बर्षदेखि दोब्बर बढी वृद्घि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ ।
दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो ।
राष्ट्रियस्तरको प्रतिस्पर्धा भएकोले यस वर्षदेखि पुरस्कार राशी बृद्घि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयाे ।
यसैगरी हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु ५ हजारसहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष बृद्घि गरिने भएको छ ।
पिपुल्स च्वाइस फोटो अवार्ड (People’s choice Photo Award)
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले रु. ५० हजार १ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
टप २५ वटा फोटोहरुमध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनौटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ्ग खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।
सद्भावना दुतमा चुङ्वाकै निरन्तरता
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) मा यस बर्ष पनि निरन्तरता दिइएको छ ।
गत बर्ष फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहबीच राजधानी काठमाण्डौंमा सो सहमति भएको थियो ।
शेर्पाले हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउनुहुन्छ । वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ ।
जंगली याकलाई कर्णाली प्रदेशको सुर्खेतमा यसै वर्ष आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय उहाँले खिचेको पाटे बाघका तस्वीर र भिडियो निकै चर्चित छन् ।
एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गर्नुुभएका शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुनुहुन्छ । ५८ बर्षको उमेरपछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्कनुभएका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिच्नुुभएकाे छ ।
नेपालमा मात्र नभई तान्जानियको राष्ट्रिय निकुञ्जमासमेत करिब १ महिना वसेर फोटो खिचेको अनुभव उहाँसँग छ । हाल शेर्पा काठमाण्डौमा बसोबास गर्नुहुन्छ ।
वाईल्डलाईफ फोटोग्राफी गर्न व्यक्तिगत तवरमा धेरै खर्च गर्नुभएका शेर्पाले याकको फोटो खिच्न हेलिकप्टर नै चाटर्ड गरेर लिमी भ्याली पुग्नुभएकाे थियाे । प्रविधिमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधिकाे क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहनुभएकाे छ ।
शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उहाँको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिइएको छ । हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजिक सञ्जाल फेसबुकमा सक्रिय हुनुहुन्छ भने टिकटकमा उहाँले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।
‘यो उमेरमा पनि शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुतमा निरन्तरता गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी शाहले भन्नुभयाे ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि थप उचाई लिनेछ ।’





