
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य बढाएको छ ।
जिल्लामा रहेका सरकारी कार्यालयहरु बीचमा समन्वयका माध्यमबाट सेवाग्राहीहरुलाई स्तरीय र सहज पहुँच कायम गर्ने बल पुगोस् भन्ने उद्देश्यले अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाइएको हो ।
पालिकाले जिल्लाका सम्पूर्ण सेवा प्रदायक निकायहरुलाई राप्ती सोनारीमा बोलाएर अन्तरक्रिया गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले जानकारी दिनुभयो ।
बाँकेका सुरक्षा निकायका प्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सम्मिलित उक्त कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उहाँले स्थानीय तहगत सरकारबाट प्रदान गरिने सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गरी सार्वजनिक सेवालाई छिटोछरितो, सहज र गुणस्तरीय सेवा दिने र पाउने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले सेवा प्रवाह गर्ने सरकारी कार्यालयबीचको समन्वयात्मक अन्तरक्रियाको प्रयास पालिकाले थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिले गर्नुपर्ने काम पालिकाले गरेको भन्दै धन्यवाद दिनुभयो ।
‘जिल्ला समन्वय समितिले पनि जिल्ला, प्रदेश र संघका मातहतमा रहेका सरकारी कार्यालयबीचको समन्वयात्मक बैठक राख्ने प्रयास गरेको हो, उहाँले भन्नुभयो,–‘तर प्रभावकारी हुन सकेन्, राप्तीसोनारीले प्रयास गरेको छ अव यसलाई सबैले निरन्तरता दिनुपर्छ ।’ अहिलेको संविधानले मुलुकमा तीन तहको सरकारको परिकल्पना गरेको छ । त्यहीअनुसार मुलुक चलिरहेको छ ।
‘तीन तहका सरकारको अर्थ नै सबै तहबीच समन्वय र सहकार्यबाटै विकास सम्भव छ भन्नु हो, उहाँले भन्नुभयो,–‘समन्वय र सहकार्य भयो भने विकासमा डुब्लिकेशन हुँदैन । र प्रभावकारी पनि देखिन्छ ।’ अहिले तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको उहाँको भनाइ थियो ।
स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाहरु एकआपसमा जुध्ने गरेका छन् । ‘योजनाहरुमा हुने दोहोरोपना रोक्नु पर्छ उहाँले भन्नुभयो, ‘त्यसका लागि एक अर्काबीचमा समन्वय आवश्यक छ । निकास विनाको विकासले कसैको पनि हित हुन सक्दैन ।’
गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले सेवाप्रदायक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा नागरिकहरुलाई जानकारी प्रवाह गर्नेका निमित्त पालिकाले अन्तर तहका कार्यालयसँगको अन्तरक्रिया राखेको जानकारी दिनुभयो ।
‘स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयबाट प्रदान हुने सबै काममा समन्वय र सहकार्य आवश्यक छ उहाँले भन्नुभयो,–‘त्यसका निमित्त गाउँपालिकाले वातावरण सिर्जना गरिदिएको हो । सरकारप्रति नागरिकको विश्वास, भरोसा टुट्न दिनु हुँदैन् ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि संविधानले तीन तहका सरकारबीच समन्वयको परिकल्पना गरेकोले त्यहीअनुसार काम गर्नुपर्ने बताए । उनले कुनै एक तहबाट मात्रै विकास सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले भन्नुभयो,–‘समन्वय र सहकार्यविना विकास सम्भव छैन । सुशासन पनि सम्भव छैन । त्यसका लागि तीनै तहका सरकारी कार्यालयको सामुहिक एक्यबद्धता आवश्यक छ ।’ उाँले सेवा प्रवाहलाई सहजीकरण गर्न जिलला प्रशासन कार्यालयले भूमिका खेल्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।
‘समन्वयको लागि जिल्ला प्रशासन कार्यालय सधैंव तयार छ उहाँले भन्नुभयो, –‘कानुनले दिएका कामहरु सहजै रुपमा गर्न सकिन्छ । सरकारी कार्यालयका प्रमुखहरुलाई मेरो अनुरोध छ सके सपारौं नसके नविगारौं ।’
कार्यक्रममा नेपाल प्रहरीका एसपी तुलबहादुर कार्की, सशस्त्रका एसपी विमल डाँगी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायत जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





