
काठमाण्डौं । देशभर करिब १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने सात जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि काठमाडौँ र तनहुँ, पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।
दाहालका अनुसार कास्कीमा दुई हजार २२१, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६, पर्वतमा एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो ।
डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ। प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा छ हजार ४८९, बागमती प्रदेशमा चार हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, लुम्बिनी प्रदेशमा ९९५, कर्णाली प्रदेशमा २२०, मधेश प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको छ ।





