
नेपालगञ्ज । अपाङ्ग सशक्तिकरण एवम् संचार केन्द्र (डेक) नेपाल बाँकेको १७ औं साधारण सभा सम्पन्न भएको छ । आज (सोमबार) नेपालगञ्जमा डेक नेपालले आफ्नो १७ औं साधारण सभा सम्पन्न गरेको हो ।
डेक नेपाल बाँकेकी अध्यक्ष हरिकलादेवी थापामगरको अध्यक्षमा आयोजना गरिएको कार्यक्रममा डेक नेपाल बाँकेका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति आचार्यले घर–घरमा सिंहदरबार आएपनि अपाङ्गता भएका व्यक्तिहरुका लागि भने घर–घरमा सिंह आए झै भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुप्रति स्थानीय सरकारको दृष्टिकोणमा परिवर्तन आएपनि अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम तथा योजना तर्जुमा गर्न स्थानीय सरकारले कन्ज्युस्याई गरेको बताउनुभयो ।
‘हरेक वडा तथा पालिकामा सामुहिक रुपमा स्थानीय सरकारलाई खबरदारी गर्नु पर्छ । सधैं दयाको मात्र पात्र नभएर अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरीय जीवन रुपान्तरण गर्न अघि बढ्नु पर्छ । किनकी गरिबीको रेखामुनी धेरैजसो अपाङ्गता भएका व्यक्तिहरु छन्,’ आचार्यले भन्नुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि विष्णु कान्त आचार्यले डेक नेपालले फड्को मारेको भन्दै हिजोका दिनमा अपाङ्गता भएका व्यक्तिप्रति गरिने व्यवहारमा परिवर्तन आएको बताउनुभयो । साथै कार्यक्रममा डेक नेपाल बाँकेका उपाध्यक्ष ईन्द्रबहादुर थकालीले अझै पनि सरकारी कार्यालय अपाङ्गमत्रै नभएको गुनासो व्यक्त गर्नुभयो ।
डेक नेपाल बाँकेका कार्यक्रम प्रवन्धक जीवन गिरिले कार्यप्रगति प्रस्तुत गर्दै डेक नेपाल बाँकेले लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही र कपिलबस्तुमा कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
उहाँका अनुसार डेक नेपाल बाँकेले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार प्रदान, आर्थिक सहयोग, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम संचालन, जिविकोपार्ज तथा सहयोग कार्यक्रम, समावेसी स्वावलम्बीन कार्यक्रम, बाँकेको बैजनाथमा आवसिय पुनस्र्थापना केन्द्र संचालन, आयआर्जनमा सहयोग तथा सहायक सामग्री प्रदान जस्ता कार्यक्रम गर्दै आएको छ ।





