
कम्दी । बाँकेको डुडुवा गाउँपालिकामा सेवा प्रदायक कार्यालयहरुले प्र्रदान गर्ने सेवामा सुधार आएको छ । गाउँपालिका भित्र रहेको न्यायीक समिति, वडा कार्यालय, प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा कार्यमा सुधार देखिएको हो ।
सामुदायिक अंकपत्रको आधारमा समिक्षात्मक अन्तर संवाद कार्यक्रममा बोल्ने सेवाग्राहीहरुले कार्यालयले स्थानीयमा सेवा दिने कार्यमा सुधार भएको पाइएको बताएका छन् । उनीहरुले बिभिन्न निकायहरुमा सेवा लिन जाँदा देखिने गरेको समस्याहरु अहिले समाधान भएको बताएका हुन ।
न्यायीक समितिकी संयोजक एव डुडुवा गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले सेवा दिने कार्यमा देखिने समस्यालाई अझै सुधार गरिने बताउनुभयो । केही समय अघि पालिका क्षेत्रहरुमा समग्र लैंगिक उत्तरदायी र जवाफदेही न्यायमा पहुँच सुदृढीकरण (सहज) परियोजना अन्तर्गत जनमुखि सेवाको अवस्थाका बारेमा स्थलगत अध्ययन गरिएको थियो ।
माहुरी होमले बिभिन्न १० वटा बुंदामा गरेको अध्ययनका बारेमा सेवा प्रदायक कार्यालयलाई जानकारी गराएको तथा बिहीबार अध्ययन र हालको अवस्थाको बारेमा गरिएको समिक्षात्मक कार्यक्रममा बोल्ने सेवाग्राहीहरुले पहिलेको भन्दा केही सुधार भएको बताएका छन् । कार्यक्रममा होम बाँकेकी कार्यक्रम अधिकृत सुनिता पोखरेलले अवस्था र त्यसका आधारभूत कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा डुडुवा कार्यपालिका सदस्य रिता परियार, न्यायीक समितिका सदस्य, वडा सदस्य, इलाका प्रहरी कार्यालय मिलन चोक, बनकट्टी र बेतहनीका प्रमुखहरु, मेलमिलाकर्ता, किशोरी समूह, शिक्षक र सहकारी संस्थाका व्यक्तिहरुको तथा अन्य सेवाग्राहीहरुको सहभागिता सामाजिक परिचालक शिव कुमार जैसवालले बताउनुभयो ।





