
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकालको रेडिमेड (प्लाष्टिकका) माला प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरमा रेडिमेड (प्लाष्टिकका) माला प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको हो ।
तिहार लगायतका चाडपर्वमा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिनुभयो ।
‘स्थानीय कृषकहरुले उत्पादन गरेको सयपत्री फुलहरु लगायत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमल लगायतका फुलहरु उत्पादन भइरहेको छ,’ प्रशाकीय अधिकृत गिरीले भन्नुभयो, ‘प्राकृतिक रुपमा उत्पादन भएका भइरहेका यस्ता फुलहरु तथा यसबाट बनेका मालाहरु प्रयोग गर्नु स्वास्थ्यका लागि फाईदाजनक छ, त्यसकारण यसको प्रयोग जरुरी छ ।’
जारी सूचना अनुसार आउँदै गरेको मुख्य चाड पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ २०८१ लगायत महोत्सव तथा अन्य सभा समारोहमा प्लाष्टिकजन्य फुलगुच्छा, माता लगायतका सामाग्रीहरुको प्रयोग, उत्पादन, आयत, विक्रिवितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएको छ ।
साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने, स्थानीय कृषकबाट उत्पादित फुलले बजार नपाउने तथा ठुलो धनराशी बाहिरीने जस्ता समस्याहरु देखिने भएकाले नगरले रेडिमेड सामाग्रीमा प्रतिबन्ध लगाएको प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।






